जनता टाइम्स

५ जेष्ठ २०७८, बुधबार १८:४५

कोरोनाको तेस्रो भरियन्ट ५० प्रतिशत बढी संक्रामक, यस्तो छ चिकित्सकको सुझाव


काठमाडौं, जेठ ५ । इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोभिड– १९ को तेस्रो भेरियन्ट निकै संक्रामक र घातक रहेको बताएको छ । नेपालमा गतहप्ता कोभिड १९ संक्रमितको ३५ वटा नमुनालाई जीन स्क्विन्सिग गर्दा ९७ प्रतिशतमा (३४ वटा) बि. १. ६१७.२ नयाँ भेरियन्ट र तीन प्रतिशतमा (१ वटा) बि.१. ६१७. १ पुष्टि भएसँगै नेपालमा कोभिड १९ को तेस्रो भेरियन्ट रहेको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि मंगलबार विज्ञप्ति निकाल्दै नेपालमा तेस्रो भेरियन्टको बिषयमा जानकारी गराएको थियो । इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले तेस्रो भेरियन्ट यसअघि देखापरेको भेरियन्ट भन्दा ५० प्रतिशत बढी संक्रामक र घातक रहको प्रष्ट पारेको हो । इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. कृष्ण पौडेलले आज पत्रकारहरुसँग कुरा गर्दै शुरुमा बेलायतमा पत्ता लागेको भेरियन्ट भन्दा यो भेरियन्ट ४० देखि ५० प्रतिशत बढी संक्रामक रहेको बताउनु भयो ।

उहाँका अनुसार यो भेरियन्ट २० देखि ४४ वर्ष उमेर समुहमा उच्च संक्रमण रहेको छ । ‘प्रारम्भिक अध्ययनहरुले यो सर्ने दर अन्य भेरियन्टभन्दा उच्च छ भन्ने देखिएको छ । नेपालमा बढेको संक्रमण दर, भारतमा बढेको दरले पनि अप्रत्यक्ष रुपमा हामी एउटा निष्कर्षमा पुग्न सक्छौँ यो अलि बढी संक्रामक छ भनेर,’ पौडेलले भन्नुभयो, ‘केही अध्ययनहरुमा, बेलायतको मेडिकल जर्नलमा ब्लगमा उहाँहरुले लेखेको अनुसार बेलायतमा पत्ता लागेको भेरियन्टभन्दा यो भेरियन्ट अझै ४० देखि ५० प्रतिशत बढी संक्रामक छ है भनेर आँकलन गरिएको छ ।’

डा. पौडेलले हाल कोभिड विरुद्धमा लगाइरहेको कोभिशिल्ड खोपले तुलनात्मक रुपमा यस भेरियन्टको जटिलता कम गर्न र मृत्यूदर कम गराउन प्रभावकारी हुने बताउनु भयो । ‘तुलनात्मक हिसाबले यो भेरियन्टमा पनि जटिलता कम गर्न र मृत्यूदर कम गराउन सहयोगी÷प्रभावकारी छ भन्ने बुझिन्छ । खोपको प्रभावकारीता राम्रै देखिएको छ,’ पौडेलले भन्नुभयो । सामाजिक दुरी कायम गर्ने, मास्कको प्रयोग गर्ने तथा सरसफाईलगायतका जनस्वास्थ्यको मापदण्ड पालना गरेर मात्रै कोभिड १९ को तेस्रो भेरियन्टबाट बच्न सकिने निश्कर्ष पनि उहाँले सुनाउनु भयो ।