जनता टाइम्स

११ जेष्ठ २०७८, मंगलवार १७:१९

संक्रमण रोकथामका लागि झनै कडा गर्दै जेठ २० सम्म थपियो काठमाडौं उपत्यकामा निषेधाज्ञा


काठमाडौं, जेठ ११

कोरोनाभाइरस (कोभिड–१९) को दोस्रो भेरियन्ट तिव्ररुपमा फैलिएसँगै संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञा अवधि थप एकसाता लम्ब्याइएको छ । आज उपत्यकाका तिन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा जेठ २० गते मध्यरातसम्म कायम रहने निर्णय गर्नुभएको हो ।

बैठकले जेठ २० गते राति १२ बजेसम्म निषेधाज्ञा लम्ब्याउँदै यो अवधिमा खाद्यान्‍न पसल पनि बन्द गर्ने निर्णय गरेको छ । हरियो सागसब्जीको हकमा भने बिहान ९ बजेसम्म पसल खोल्न पाइने भएको छ । निषेधाज्ञामा पनि संक्रमण दरमा कमी नआएपछि विकास निर्माणसँग सम्बन्धित सबै सवारी साधनलाई सञ्‍चालनमा रोक लगाइएको हो ।

यसअघि जारी गरिएका सवारी पास समेत खारेज गर्दै मृत्यु संस्कार, विवाहलगायतका सवारी साधनलाई भने तोकिएका मापदण्डभित्र रहेर अनुमति दिइने भएको छ । विवाहका लागि एउटा सवारी साधनमात्रै अनुमति दिइने र त्यसमा अधिकतम ७ जनालाई मात्रैलाई अनुमति दिइने छ ।

त्यस्तै यसअघिको निषेधाज्ञाभन्दा अब हुने प्रावधानमा कडा सर्त रहेका छन्, जसको उल्लंघन गर्नेलाई कैद र जरिवानासमेत गर्नेगरी आदेश जारी गरिएको छ । आदेशका प्रावधान कोभिडसम्बन्धी अध्यादेश अनुरुप हुने भएको हो ।यसअघि उपत्यकामा बैशाख १६ गतेदेखि निषेधाज्ञा सुरु भएको थियो । निषेधाज्ञाको समय पटक–पटक थप गर्दै आजको निर्णयले जेठ २० सम्म कायम रहने जनाएको छ ।