जनता टाइम्स

२२ असार २०७८, मंगलवार १६:१४

महेश बस्नेतको त्यो साहसिक कामलाई सलाम


यी मुद्दामा सबै पार्टीका सबै युवा नेताहरूले बहस गर्दै वस्तुनिष्ठ मुद्दा बोक्न जरूरी छ । ठोस परिस्थितिको ठोस विश्लेषण र उपयुक्त कदम नै मार्क्सवादको सार हो । मार्क्सवाद सम्मत, लोकतान्त्रिक र यो युगका मुद्दाहरूको उठान गर्नेलाई हामी सबैले समर्थन गर्छौ । बस्नेत सबैभन्दा अगाडि देखिनुभयो

वाई. पी. आचार्य

युवा नेता महेश बस्नेतले पार्टी केन्द्रीय कमिटीको बैठकमा ८ बुँदे प्रस्ताव राखेको सन्दर्भले नयाँ बहश सिर्जना गरेको छ । उनले उठाएका मुद्दा बहश, पैरवी, सुधार, विकास र रुपान्तरणका लागि निकै सान्दर्भिक छन् । जुन मुद्दाहरूले नेपालमा विकासको गतिरोध सृजना गरेको छ त्यसबारेमा समीक्षा गर्दै समयानुकूल बनाउन सबै भन्दा ठूलो र सत्ताधारी पार्टीले नेतृत्व गर्नुपर्छ भन्ने प्रस्ताव सह्राहनीय छ । महि माग्ने ढुंग्रो लुकाउने नेपाली युवा पीँडिको राजनीतिक संस्कारलाई तोड्ने शासह गर्नुभएकोमा सलुट गर्छु ।

वस्तुनिष्ठ माग (real demand) र प्रचारात्मक माग (populist demand) का बीचमा भेद छुट्याउन नसक्ने र प्रचारात्मक माग जुन तत्कालिक जनता रिजाउन उपयुक्त हुन्छ तर लामो समयसम्म टिक्दैन वा उपयुक्त हुँदैन, त्यसैकापछि कुद्ने राजनीतिक अभ्यासलाई चुनौती दिएकोमा सम्मान छ । दुरदर्शी नेताले वस्तुनिष्ठ मागको नेतृत्व गर्छ । महेश वस्नेतले उठाएका मुद्दा वस्तुनिष्ठ माग आवश्यकता हुन ।

भोटको लागि जे पनि बोकेर हिड्ने राजनीतिक संस्कारलाई पनि यो कदमले चुनौती दिएको छ । गुटको नेतालाई नै भगवान मान्ने, उनको बोलि नै दर्शन ठान्ने खहरे युवापुस्ताको कदममा क्रमभंगता ल्याईदिने शाहस गर्नु भएको छ । यी मुद्दा व्यापक बहशमा जानुपर्छ । बौद्विक मथिङ्गल चलाउनु पर्छ । म उहाँका सबै मुद्दामा वहसका लागि सहमत छु । तर यो आलेख उहाँले उठाउनु भएका दुई वटा मुद्दामा मात्रै केन्द्रित हुने छ । अरू मुद्दामा क्रमशः लेखिनेछ ।

संघीयताका बारेमा

ओसमग्लु र रविन्सनको Why nations fail भन्ने पुस्तकले देशहरू असफल हुँनाका कारण शोष्ने (Extractive) संरचनारपद्दती हो भनेको छ । यसमा प्रशस्त evidences दिईएको छ । नेपालमा प्रदेश स्तरको संरचना Extractive (खर्च गर्ने उत्पादन कम गर्ने) छ की Productive (उत्पादन गर्नेर वा सेवा गर्न सक्ने) छ ? गहिरोसंग विचार गर्नपर्ने भयो । सरकार भए पछि यसले प्रशस्तै संरचना माग गर्छ । संरचनाले खर्च माग गर्छन् । अझ राजनीतिक संरचना भए पछि संगै ब्युरोक्रेटिक संरचना खोज्छ ।

यी सबैले गाडि, आवास, तलव, भत्ता, सुविधा (चालु खर्च) खोज्छन् । यी सबै खर्च भन्दा जनसेवा वा उत्पादन बढि हुने हो भने त्यस्ता संरचना आवश्यक पर्छ । सेवा वा उत्पादन भन्दा खर्च बढि हुने संस्था शोष्ने (Extractive) प्रकारका हुन् । प्रदेश यस्तै संरचना भित्र पर्छन् । हामीले त्यस्ता जनावर पाल्छौ जसले कित दुध दिन्छ, मासु दिन्छ, सुरक्षा दिन्छ, चढ्न पाईन्छ, भारी बोक्छ वा यस्तै । होईन भने पाल्दैनौ ।

प्रदेश संरचना राजनीतिक व्यवस्थापन मात्रै थियो । यो आर्थिक विकास वा विविधताको व्यवस्थापन गर्ने सामाजिक, सांस्कृतिक व्यवस्था जुन जनहितका लागि तयार भएको संरचना होईन । यो प्रचारात्मक मुद्दा मात्रै थियो । वस्तुनिष्ठ थिएन । स्थानीय सरकारले जनतासँग निकट रही जनताका दिनानुदिनका काम गर्छ । संघीय सरकारले समग्र राष्ट्रको नेतृत्व गर्छ । तर प्रदेश सरकारको भूमिका संविधानतहः एपेन्डिक्स जस्तो छ ।

यसलाई सिधै काम गर्ने भूगोल वा भूमिका दिईएको छैन । महेश वस्नेतकै निर्वाचन क्षेत्रलाई हेर्ने हो भने पनि स्थानीय सरकार र संघीय सांसदको संयुक्त प्रयासमा नमूना योग्य काम भएका छन् । तर त्यहाँ प्रदेश सरकारको भूमिका शून्यप्रायः छ । सरकारी संरचनाले बस्तुमात्रै उत्पादन गर्दैनन् सेवा पनि दिन्छन् जुन अर्थसंगमात्रै दाँज्न मिल्दैन । जस्तै स्कुल वा विश्वविद्यालयले ज्ञान उत्पादन गर्छन् ।

मानव स्रोतको उत्पादन गर्छन् । यहाँको लगानी अर्थसंग मात्रै दाँज्न मिल्दैन र सरकारले यहाँ लगानी गर्नुपर्छ । तर प्रदेश सरकारको भूमिका यो कोणबाट हेर्दा पनि Extractive नै देखिन्छ । Appendix जस्तै देखिन्छ । अपरिहार्य छैन । महेश वस्नेतको प्रस्ताव संघीयता खारेजी होईन भन्ने बुझ्छु म । मोडालिटिमा बहस उठाउन खोज्नु भएको छ । प्रदेशको संरचना नहुँदा पनि संघीयता हुन्छ । तीन तहको ठाँउमा २ तहको संरचना रहन्छ ।

प्रदेश स्तरको खर्च स्थानीयस्तरबाट जनताका लागि खर्च गर्न पाईन्छ र त्यसले उत्पादन दिन्छ । प्रदेश तहको बारेमा अझै समिक्षा गर्ने बेला भएको छैन भन्ने मत पनि छन् । तर संकेत राम्रो छैन र कामकालागि ठाँउ भएन । अब ठाँउ बनाउने भनेको पनि शोषणकारी (Extractive) संरचना बनाउने हो । अर्कातिर यसले राजनीतिक मुद्दालाई पनि समाधान गर्न सकेन बरू बल्झाई रह्यो । द्वन्द्ध बढाउने भयो । काममा उल्झन आउने भयो । जनतामा भूगोल वा जातीयताको आधारमा विभाजन ल्याउनेभयो ।

अझ प्रविधिको विकाससंगै सरकारका अधिकाँस काम automation मा जाने छन् । काम छिटो र भूगोलको बारबन्देज विना जहाँ रहे पनि सेवा लिने अवस्था आउने भयो । यसो हुँदा Appendix लाई Appendicitis नहुँदै काट्नु बुद्धिमानी हुनसक्छ । यसका लागि आवेग प्रेरित आन्दोलन होईन रचनात्मक बौद्धिक विमर्श जरूरी छ । संविधान संशोधनबाट मात्रै यो काम टुङ्गिन्छ । यसका लागि पार्टीले यो मुद्दा उठाउनु पर्छ ।

महेश वस्नेतले व्यक्तिले नउठाएर पार्टीले बोक्ने गरी जुन प्रस्ताव उठाउनु भयो यो बढो राजनीतिक संस्कारयुक्त छ ।संघीयता जोगाउन Appendix हटाउँ । विकासकालागि Extractive संरचना नपालौँ । नेताको राजनीतिक व्यवस्थापनका लागि मात्रै निर्मित खाम्से पद्दती कटाउँ । कतिपय नेताका लागि यो अप्रिय लाग्न सक्छ । तर समग्र देशको राजनीतिक स्थिरता र समृद्धिका लागि प्रिय हुनेछ ।

प्रत्यक्ष निर्वाचित कार्यकारी र आवधिक नेतृत्व सम्बन्धमा

अमेरिकामा बाराक ओवामा, विल्लक्लिन्टन, जर्जडब्लु बुस पुनः सत्ता सम्माल्ने लाईनमा लागेका भए के हुन्थ्यो होला ? कीन अमेरीकामा हिलारी क्लिनटन गएको चुनावमा उम्मेद्वार बनिनन् ? के फिनल्याण्डका प्रधानमन्त्री सान्ना मारिन, अष्ट्रीयाका चान्सलर सेवास्टियन, मालीका राज्य प्रमुख असिमा गोईता, क्यानडाका प्रधामन्त्री जस्टिन पियरे जेम्स लगायतका युवा नेताहरूले ७० वर्ष नहुन्जेल सत्तामा टासिई रहने अभिलासा राख्लान ? अवश्य राख्दैनन् ।

त्यसैले त्यहाँ बलियो प्रजातन्त्र छ । नेपालमा यस्को उल्टो दशकौँ पार्टी प्रमुख भएर चलाएका, दुई तीन पटक सरकार प्रमुख भएका र ७० बर्ष उमेर पार गरेकाहरू पनि कुनै न कुनै पदमा झुण्डिरहने लालसाले थिचेको देखिन्छ । आन्तरिक चुनाव हारेर पनि वरिष्ठको नाममा पार्टीमा टासिने । आम चुनाव हारेर पनि चोरबाटोबाट छिरेर सांसद हुँदै सत्तामा पुग्नु पर्ने । पद नपाएमा शक्तिको भाग लाग्नै पर्ने । यी सबै अप्रजातान्त्रिक कार्य हुन ।

जनताबाट पत्यक्ष निर्वाचित कार्यकारी प्रमुख अबको उपयुक्त विकल्प हो । संसदबाट बहुमतीयमा प्रधानमन्त्री बन्ने पद्दती नेपालमा असफल भईसक्यो । धेरैपटक परीक्षण हुँदा पनि असफल भयो । अब पनि यहि पुरानै मोडेल बोकेमा जनताले मान्ने छैनन् । प्रत्यक्ष निर्वाचित कार्यकारी हुँदा धेरै अनुत्पादक संरचनापनि घट्नेछ्न् । राज्यको आर्थिक र व्यवस्थापकीय बोझ पनि ह्यात्तै घट्ने छ । कार्यकारी राष्ट्रप्रमुख दुई पटक भन्दा बढि (लगातार खासगरी एउटा कार्यकाल राम्रो गरेको र जनताले रूचाए भने अर्को कार्यकाल तर बीचमा टुटेर वा हारे पछि उ फेरी प्रतिष्पर्धा गर्न नपाउने) हुन नपाउने व्यवस्था हुन जरूरी छ ।

पत्यक्ष निर्वाचित कार्यकारी प्रमुख भए पनि पार्टीको प्रतिष्पर्धा हुने भएकोले पार्टीको आन्तरिक लोकतन्त्र महत्वपूर्व हुन्छ । यसका लागि बढिमा लगातार (बीचमा टुटेमा वा एकपटक पार्टीप्रमुख भएर दोस्रोमा हारेमा स्वतः अवकास हुने) दुईपटक भन्दा बढि पार्टीप्रमुख हुन नपाउने व्यवस्था हुनुपर्छ । पार्टी प्रमुखबाट विदा भएपछि कुनै सामान्य सल्लाहकार बाहेक अन्य जिम्मेवारी नहुने हुनुपर्छ । यसो गर्दा नयाँ बन्ने अध्यक्षलाई नटेर्ने, शक्तिकेन्द्रहरू बनाउने, आफ्नो भूमिका र शक्ति खोजिरहने प्रबृत्तिको अन्त्य हुन्छ र पार्टी प्रमुखले स्वतन्त्र हिसाबले काम गर्न पाउछ ।

अर्कातिर एक पटक पार्टी प्रमुख वा सरकार प्रमुख भएका व्यक्ति पुनः पार्टीको कुनै जिम्मेवारीमा भएमा नयाँ अध्यक्ष वा सरकार प्रमुखलाई नटेर्ने, शक्तिकेन्द्रहरू निर्माण गर्ने कार्य भईरहन्छ । अहिले पार्टी फुट्नु र सरकारलाई स्वतन्त्ररुपमा काम गर्न नदिनुको मूख्य कारण परीक्षण भएका व्यक्ति पनि पदमा रहिरहनु हो । स्वचालित वहिर्गमन (exit) को व्यवस्था नहुने हो भने भविश्यमा अझै समस्या आउने छ ।

सत्ताको स्वाद चाखेका, पार्टीको प्रमुख वा बरिष्ठ भएकाहरुको संख्या बढ्ने छ । उहाँहरू बाहिर नजाने हो भने उहाँहरूको काम गुटबन्दि गर्ने र भागवण्डा खोज्ने भईरहने छ । नयाँ पुस्ता भित्र छिर्न सक्ने छैन । छिरेपनि काम गर्न पाउने छैन । दलीय व्यवस्थामा पार्टी राम्रो बनेन भने देश बन्दैन । पार्टी बन्ने पद्दतीले हो । पद्दती बसाल्नकालागि नेताको आवधिक जिम्मेवारी-निश्चित जिम्मा र समय पुरा भए पछि बाहिर निस्कने, सम्बन्धमा वस्नेतको प्रस्ताव सान्दर्भिक देखिन्छ । युवा पुस्ताले उठाउने यस्तै मुद्दा हो ।

पुर्खाले घिउ खाएका थिए भनेर नाति नातिनाका तिघ्रा बलिया छन् भनि घुर्कि लगाए जस्तै अब ईतिहास भजाएरमात्रै राजनीति गर्ने बेला छैन । कसैलाई कुर्चीमा बसाल्न सडकमा टाएर बाल्ने, प्रहरीले गिरफ्गार गरेको फोटो सामाजिक सञ्जालमा राखेर नेता बन्ने जमानाको अन्त्य भईसकेको छ । जस्ले दोहोर्याई रहेको छ उनीहरू नयाँ परिस्थितिमा फिट हुँदैनन् ।

यी मुद्दामा सबै पार्टीका सबै युवा नेताहरूले बहस गर्दै वस्तुनिष्ठ मुद्दा बोक्न जरूरी छ । ठोस परिस्थितिको ठोस विश्लेषण र उपयुक्त कदम नै मार्क्सवादको सार हो । मार्क्सवाद सम्मत, लोकतान्त्रिक र यो युगका मुद्दाहरूको उठान गर्नेलाई हामी सबैले समर्थन गर्छौ । बस्नेत सबैभन्दा अगाडि देखिनुभयो । अगाडि बढ्नुहोस । ढिलोचाडो यहाँ पुग्नैपर्छ । छिटो पुगेको राम्रो । शुभकामना !!!