जनता टाइम्स

२९ असार २०७८, मंगलवार ०७:४५

माधव नेपालले जानाजान किन लगाए कहिल्यै नमेटिने कलंकको टीका ?


काठमाडौं, असार २९ । अदालतको आदेशबाट केपी ओली नेतृत्वको सरकार ढल्न पुगेको छ। अदालतकै परमादेशले शेरबहादुर देउवा आज प्रधानमन्त्री बन्दै हुनुहुन्छ। आफ्नै अध्यक्षलाई पछारेर विपक्षी दलका सभापतिलाई उक्त पदमा पुर्‍याउन साथ दिने मुख्य नेता माधवकुमार नेपाल हुनुहुन्छ। एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीचको अत्यन्त तिक्ततापूर्ण सम्बन्धले उक्त दल फुटको जोखिममा पनि पुगेको छ। यी दुई नेताबीच राजनीतिक सम्बन्धमा उतार–चढाव रहँदै आएको छ। नेपालले १५ वर्ष पार्टीको नेतृत्व गर्नुभएको थियो ।

ओलीले २०७१ को नवौं महाधिवेशनमा उनीसँगै प्रतिस्पर्धा गरेर नेतृत्व हात पार्नुभयो। भारतद्वारा गरिएको नाकाबन्दीको प्रतिकारको नेतृत्व गरेका कारण ओलीको उचाइ बढ्दै गयो। उहाँकै नेतृत्वमा भएको स्थानीय निर्वाचनमा एमाले सबैभन्दा ठूलो पार्टीमा स्थापित भयो।

२०७४ को आम निर्वाचनमा ओलीकै नेतृत्वमा नेकपा माओवादी केन्द्रसँग चुनावी गठबन्धन गरेर नेपालमा कम्युनिष्ट शक्ति झण्डै दुईतिहाइ नजिक पुग्यो। २०७४ फागुन ३ मा ओली नेतृत्वमा दुईतिहाइ नजिकको सरकार बन्यो। २०७५ जेठ ३ मा एमाले र माओवादी केन्द्रको एकीकरण गरी नेकपा बन्यो।

यी सबै विषयमा ओली एकलौटी बढेको र आफूसँग छलफलै नगरेको भन्दै नेपालले असन्तुष्टि जनाउँदै आउनु भएको थियो। एकीकरणपछि सुरुवाती दिनमा नेकपाका अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल मिलेर गरेका हरेक निर्णयमा नेपालको आपत्ति रहँदै आयो। ओली र दाहालले चोचोमोचो मिलाएर आफूलाई किनारा लगाएको नेपालको भनाई थियो ।

दोस्रो मृगौला प्रत्यारोपण पछि ओली र दाहालबीच अन्तरविरोध बढ्न थाल्यो। नेकपाभित्रै ओलीविरुद्ध नेपाल, दाहालसहितको गठबन्धन बन्यो। लिम्पियाधुरासहितको चुच्चे नक्सा सार्वजनिक भएर देशभर खुसियाली भइरहेको बेला दाहाल–नेपाल गठबन्धनले ओलीको राजीनामा माग्यो। यसले नेपाल र ओलीको तिक्कता अझ बढ्दै गयो।

नेकपा कालमा ओलीविरुद्ध १९ बुँद्धे आरोपपत्र दाहालले ल्याउनुभयो। त्यसमा आफ्नो पनि समर्थन भएको भन्दै ओलीविरुद्ध नेपाल खुलेरै लागे । २०७७ पुस ४ मा ओली सरकारविरुद्ध दाहाल–नेपाल गठबन्धनले अविश्वासको मत ल्याउने तयारी गर्‍यो। त्यो थाहा पाएर ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गर्नुभयो। पहिलो पटकको विघटनपछि ओली र नेपालबीचको तिक्तता सडकसम्म पुग्यो।

त्यसपछि नेपाल–दाहाल प्रतिगमन भन्दै ओलीको कदमविरुद्ध सडक उत्रिनुभयो। देशव्यापी प्रदर्शन गर्नुभयो। सो गठबन्धनले सडकबाटै चार पटक ओलीलाई पार्टीको साधारण सदस्यबाट निष्कासन गरे। सडकबाटै माधव नेपाललाई पार्टीको अध्यक्ष घोषणा गरियो। नेपाल ओलीविरुद्ध तुच्छस्तरका गालीगलौजमा उत्रिनुभयो। फागुन ११ मा प्रतिनिधिसभा पुनर्स्थापना भयो।

नेपाल र दाहालले खुसियाली मनाउनुभयो। उता फागुन २३ मा नेकपा भंग गरेर एमाले र माओवादी केन्द्रलाई सर्वोच्चले बिउँत्याइदियो। नेपाल र दाहालले आ–आफ्ना पार्टीमा फर्कनुपर्ने बाध्यता भयो। माधव नेपालसहितले आफूलाई साधारण सदस्यबाट निकालेको तुस ओलीमा रहिरह्यो। २०७७ फागुन २३ मा एमाले बिउँतिएपछि चार पटक मात्रै उहाँहरूबीच भेटवार्ता सम्भव भएको छ। दुवै पक्षले आफ्ना सामान्तर गतिविधि गरिरहे। नेपाल निरन्तर विपक्षी गठबन्धनसँग मिलेर ओलीलाई सत्ताच्युत गर्न लागिरहे। ओलीले नेपाललाई पटक–पटक कारबाहीको डण्डा चलाइरहे।

नेपालले विपक्षी गठबन्धनसँग मिलेर ओली नेतृत्वको सरकारविरुद्ध अभिव्यक्ति दिइरहे। दोस्रो तहको नेताको प्रयासमा एकताको कार्यदल बनेर काम अघि बढाउँदा पनि उहाँहरुको सम्बन्धमा सौहार्दता कायम भएन। २०७८ असार २७ मा कार्यदलले १० बुँद्धे एकताको सहमति गर्यो। त्यसमा नेपालले अपनत्व ग्रहण गर्नुभएन ।

उहाँले तत्कालै अन्तुष्टिको प्रतिक्रिया दिनुभयो। सर्वोच्च अदालतले दोस्रो पटक गरेको प्रतिनिधिसभा पुनःस्थापना र देउवा प्रधानमन्त्री बनाउन दिएको परमादेशको नेपालले स्वागत मात्रै गर्नुभएन, आफ्नै निवास नजिक विपक्षी गठबन्धनको बैठक बोलाउनु भयो। जहाँ ओलीलाई सत्ताच्युत गर्ने एक मात्र उद्देश्य पूरा भएको भन्दै माधवले खुसियाली बनाउनु भयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक संसद विघटन सिफारिस गरेको दिनबाटै विपक्षी गठनबन्धनमा सामेल एमाले बरिष्ठ नेता नेपालले देउवालाई सत्ताको चावी बुझाएसँगैकरिब सात महिनाको सहयात्रा अन्त्यको घोषणा गर्नुभएको छ ।

नेपालले आफ्नो भनाइ कार्यान्वयन गर्नुभयो भने पनि भोलिदेखि फेरि उहाँ विपक्षी गठबन्धनमै पुग्नुहुनेछ । किनकि सर्वोच्च अदालतले साविकको विपक्षी गनठबन्धनलाई सत्ताको साँचो सुम्पिएको छ भने सत्ता पक्ष अर्थात नेकपा एमाले अब प्रमुख विपक्षी दलको कित्तामा धकेलिएको छ । प्रचण्ड र शेरबहादुर देउवासँग गहिरो प्रेममा पर्नुभएका नेपाललाई आफ्नै समूहका सारथीहरुले त्यो प्रेमबाट छुटाउन अनवरत प्रयास जारी राख्नुभएको थियो । उहाँहरुको त्यो प्रयासले माधव नेपाललाई सत्ता गठबन्धनमा सामेल गर्न त सकेन तर विपक्षी गठबन्धनबाट विपक्षी गठबन्धनकै कित्तामा उभ्याइदिएको छ । नेता नेपालले हिजो विपक्षी गठबन्धनको बैठकमा सहभागी भएपछि भन्नुभयो, ‘भोलिदेखि म विपक्षी गठबन्धनमा हुन्न । एमाले मै रहन्छु ।’

माधव नेपालले कम्तीमा दुई दिनअघि मात्र विपक्षी गठबन्धन त्यागेको घोषणा गरेको भए स्थिति यस्तो नहुन सक्थ्यो । उक्त गठबन्धनबाट एमालेका २३ जना सांसदले हस्ताक्षर फिर्ता गरेको भए संसद पुनर्स्थापना त हुन्थ्यो तर प्रधानमन्त्रीको नियुक्तिको बैधानिक बाटो अर्थात संसदबाटै हुन्थ्यो । ‘केपी ओलीको सेखी झार्ने’ नेपालको अहम् ले अन्ततः नेपालको गैर राजनीतिक अभ्यासलाई पटाक्षेप गरेको छ । अब एमालेमा नेपाल सहित देउवाका हस्ताक्षरकर्ताहरु रुपमा विपक्षी र सारमा देउवाको सत्ताका सारथी नै रहिरनेछन् । एमालेको इतिहासमा उहाँहरुको नाम ‘स्वर्ण अक्षर’ले लेखिनेछ । जसमा लेखिएको हुनेछ ‘आफ्नै पार्टीको अध्यक्ष प्रधानमन्त्री भएका बेला दलविहीनताको वकालत गर्दै विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन सफल एक इमान्दार नेता ।’

नेपाल सहितका २३ जना नेताहरुले आजसम्मको विपक्षी गठबन्धन छोडेर एमालेमा फर्के पनि उहाँहरुलाई यो प्रश्नले हरेक बैठक, प्रशिक्षण, भेला र आमसभामा पछ्यारहनेछ । हरेक प्रशिक्षणमा,अनुशासनका पाठमा कार्यकर्ता माझ उहाँहरुले आफ्नो अनुहार ऐनामा झलझली देखिरहनुहुनेछ । फैसलापछि एमाले २३ हस्ताक्षरकर्ता मध्ये अधिकांशले ग्लानी महसुस गरेको हुनुपर्दछ ।

नेता नेपाल नेपालको कम्युनिष्ट इतिहासमा एकजना यस्तो नेता हुनुहुन्छ, जसले सिंगो कम्यूनिष्ट पार्टीलाई दुई चिरा पार्न सेतुको भूमिका निर्वाह गर्नुभयो । जसरी अहिले देउवालाई प्रधानमन्त्री बनाउन उहाँले सेतुको भूमिका निर्वाह गर्नुभएको छ । त्यसैगरी प्रचण्डलाई ओलीसँगको सम्बन्ध तोड्न उहाँले उत्प्रेरकको भूमिका निर्वाह नगरेको भए प्रचण्ड पनि ओलीविरुद्धको अप्राकृतिक अभ्यासमा पुग्नुहुन्थेन होला ।

एमाले बनाउन लामो इतिहास भएका नेता नेपालको छोटो भूमिकाले आफ्ना सहयात्री केपी ओलीलाई सत्ताको सिंढीबाट केही समयका झार्‍यो होला तर नेपालको निधारमा कलंकको टिका भने आजीवन लागि नै रहनेभएको छ ।