जनता टाइम्स

१७ श्रावण २०७८, आईतवार १२:३२

आकर्षक प्रस्तावसहित फेरि माधव निवासमा प्रचण्ड


काठमाडौं, साउन १७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड फेरि माधव नेपालको निवास पुग्नुभएको छ । माधव समुहकै दोस्रो तहका प्रभावशाली नेताहरु एमाले बिवाद समाधान गर्न अन्तिम कसरत गरिरहेको बेला प्रचण्ड भने एमालेबाट अलग भएर शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने प्रस्तावसहित माधव निवास पुग्नुभएको हो ।

बिगत केही समयसता माधव नेपाललाई एमालेबाट अलग गराएर माओवादीमा बिलय गराउने अभियानमा प्रचण्ड लाग्नुभएको छ । सोही रोडम्यापअनुसार मन्त्रिपरिषद् विस्तार र मन्त्रालय भागबण्डा टुंगो लगाउन प्रचण्ड सत्तारुढ गठबन्धनका एक सूत्रधार ‘एमाले वरिष्ठ नेता’ नेपाललाई भेट्न उहाँकै निवास कोटेश्वर पुग्नुभएको हो । माधव समुहमा रहेका सांसदहरु अव कहिल्यै मौका नआउने भन्दै मन्त्री बन्ने खुट्टा उचालेर बसेको बेला आकर्षक प्रस्तावसहित एमालेबाट अलग गराउन माधव निवासमा प्रचण्डले छलफल गर्नुभएको छ ।

शुक्रबार पनि प्रचण्डले माधव नेपाललाई भेटेर सरकारमा सहभागी हुन आग्रह गर्नुभएको थियो । शनिवार प्रधानमन्त्री देउवा र प्रचण्डबीचको छलफलमा माधव पक्षलाई सरकारमा सहभागी गराउने समझदारी बनेको थियो । सो समझदारीअनुसार आज कोटेश्वर पुगेर सरकारमा सहभाग हुन प्रचण्डले माधवलाई आग्रह गर्नुभएको छ । माधव नेपालले निर्णय नदिएकै कारण मन्त्रिपरिषद् विस्तार समेत हुन सकेको छैन । नेपालले आज निर्णय गरेमा भोलि सोमबार मन्त्रिपरिषद् विस्तार हुने र नेपाल पक्षलाई कम्तीमा ६ मन्त्रालय दिने समझदारी बनेको समाचार यसअघि नै सार्वजनिक भइसकेको छ ।

एमालेले एकताको वारपार लगाउन आज स्थायी कमिटी बैठक बोलाएको र माधव समुहका प्रभावशाली नेताहरुले सरकार होइन, पार्टी एकता भन्ने दवाव दिइरहेको बेला माधव भडकाउन प्रचण्ड कोटेश्वर पुग्नुभएको हो । पछिल्लो समय माधव प्रचण्डको भन्दा अरु कसैको कुरा सुन्ने अवस्थामा समेत हुनुहुन्न । आजको छलफलमा पनि प्रचण्डले माधवलाई एमाले फर्किने कुरा नगर्न कन्भिन्स गर्नुभएको बताइएको छ ।

आजको छलफलमा प्रचण्डले एमालेबाट अलग भइ नयाँ दल गठनका लागि सरकारले अध्यादेशमार्फत कानून परिवर्तन गरिदिने र नयाँ दल दर्तासँगै माओवादीमा आफूपछिको दोस्रो अध्यक्ष दिने तथा चुनावमा कांग्रेससँग सहकार्य गरेर जाने प्रस्ताव माधवलाई गर्नुभएको स्रोतले जनताटाइम्सलाई बतायो । स्रोतका अनुसार प्रचण्डले एमालेमा फर्कदा एमालेका कुनै पनि नेता कार्यकर्ताले स्वीकार नगर्ने र अहिले भएको शक्ति पनि क्षीण भएर जाने भन्दै सवैतिर मिलाएर आफैले निर्माण गरेको देउवा सरकारमा सहभागिता नै राजनीतिक फाइदा हुने बताउनु भएको छ । प्रचण्डले आर्थिकदेखि सवै कुराको जिम्मा लिने जनाउसमेत माधवलाई दिनुभएको खुमलटार स्रोतको भनाई छ ।