जनता टाइम्स

१९ श्रावण २०७८, मंगलवार २०:०७

परमादेशबाट बनेको सरकार भारतीय दादागिरीको सामु निरिह : सासंद त्रिपाठी


काठमाडौं, साउन १९ । नेकपा एमालेका प्रतिनिधिसभा सांसद भुमिप्रसाद त्रिपाठीले अहिले परमादेशबाट बनेको सरकार दार्चुला घटनामा मौन बसेको आरोप लगाउनुभयो । प्रतिनिधि सभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदले अहिलेको सरकार भारतको ‘कम्फर्टेबल’ भएको भन्दै उहाँले भारतकाविरुद्ध सरकार बोल्न नसकेको र कम्फर्टेवल भएको भन्दै निन्दा गर्नुभयो । सांसद त्रिपाठीले दार्चुला घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग समेत गर्नुभयो ।

उहाँले अहिलेको सरकार भारतको कम्फर्टेबल भएको आरोप लगाउँदै भारतीय दादागिरीका सामु निरिह भएको टिप्पणी गर्नुभयो । प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै सांसद त्रिपाठीले यही साउन १५ गते दार्चुलाका जयसिंह धामी तुइनमार्फत महाकाली नदी पार गर्दा भारतीय सुरक्षाबल एसएसविले लुइनको लठ्ठा चुँडाइ वेपत्ता पारेको अमानविय, क्रुर र आपराधिक घटनाको घोर निन्दा र भत्र्सना गर्नुभएको हो । उहाँले उक्त घटनाको सत्यतथ्य छानविन गरी सार्वजनिक गर्न, दोषीलाई कारवाहीमा ल्याउन र पीडित परिवारलाई राहत दिन सरकारको ध्यानाकर्षण गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सत्यतथ्य अविलम्ब सार्वजनिक गर्न, दोषीलाई कारबाहीको दायरामा ल्याउन र पीडित परिवारलाई उचित क्षतिपुर्ति दिलाउन सरकारको गम्भिर ध्यानाकर्षण गराउँदछु । वर्तमान सरकार भारतीय दादागिरिका सामु निरिह साबित भएको छ । यो सरकार नेपाली नागरिकका लागि होईन । अरु कसैको लागि कम्र्फटेवल भएको चर्चा सर्वत्र सुन्न पाइन्छ । हेक्का रहोस् गोरु सधैँ व्याउँदैन । लोकतन्त्रमा जनता नै भगवान हुन् ।’ प्रतिनिधि सभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुले दार्चुला घटना र खोपको विषयलाई लिएर घोर निन्दा एवं भत्र्सना गर्नुभएको थियो ।