जनता टाइम्स

२३ श्रावण २०७८, शनिबार १८:४५

तिङ्करमा बन्यो सशस्त्र प्रहरीको सीमा चौकी भवन


दार्चुला, साउन २३ । दार्चुलाको चीनसँगको सीमा क्षेत्र व्याँस गाउँपालिका–१ तिङ्करमा सशस्त्र प्रहरीको सीमा चौकी (बीओपी) निर्माण सम्पन्न भएको छ । सशस्त्रको बीओपी भवन निर्माण कार्य एक महिनामै सम्पन्न भएको हो । सडक पहुँच नहुँदा भवन निर्माणका लागि हेलिकोप्टरमार्फत निर्माण सामग्री ढुवानी गरिएको थियो । सामान पुगेको एक महिनामै भवन निर्माणको काम सकिएको सशस्त्र प्रहरी बल ४४ नम्बर गण दार्चुलाका गणपति एसपी नरेन्द्र बमले जानकारी दिनुभयो ।

बीओपीको दुई वटा भवन (ब्लक) संगै भान्सा र शौचालय निर्माण गरिएको छ । बीओपीको भवन तिङ्कर भन्सारको छियालेक क्षेत्रको जमिनमा निर्माण गरिएको एसपी बमले बताउनुभयो । बीओपी भवन निर्माणका लागि एक करोड बजेट विनियोजन गरिएको थियो । तिङ्कर गाउँबाट दुई किलोमिटरको दुरी छियालेकमा सशस्त्र प्रहरीको बीओपी र नेपाल प्रहरीको सीमा चौकी रहेको छ । छियालेक भन्दा माथि मानव बस्ती छैन । तिङ्करबाट झण्डै पाँच घण्टाको उकालो पैदल यात्रा गरेपछि नेपाल र चीनको सिमाना छुट्याउने टिंकर भञ्ज्याङको एक नम्बर पिलर आउँछ । सीमामा सशस्त्र प्रहरीको उपस्थिति भएपछि टिंकर भञ्ज्याङसम्म बेला बेला सुरक्षा गस्ती हुने गरेको छ ।

तिङ्कर भन्दा तल दार्चुलाको कालापानी नजिक छाङरु गाउँमा सशस्त्र प्रहरीको गुल्म भवन निर्माणको काम भइरहेको छ । गत वर्ष सम्झौता भएको भवन निर्माणको काम सम्झौता अवधि सम्पन्न भएपनि निर्माण सम्पन्न भएको छैन् । हिउँदमा हिमपातका कारण काम गर्न नसकिएकोले काममा ढिलाइ भएको निर्माण कम्पनीले जनाएको छ । छाङरुमा सशस्त्र प्रहरीको गुल्म हालसम्म भाडाको भवनमा बसिरहेको छ । नेपाल सरकारले भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटेर नक्सा जारी गरेपछि सशस्त्र प्रहरी बाह्रैमास व्याँसमा बसेको हो । दार्चुला सदरमुकाम खलंगामा सशस्त्रको गण र छाङरुमा गुल्म बसेको छ ।

यस्तै लेकम गाउँपालिकाको लाली, मालिकार्जुन गाउँपालिकाको जोलजिवि, महाकाली नगरपालिकाको दत्तु, व्यास गाउँपालिकाको दुम्लिङ र तिङ्करमा बीओपी स्थापना गरिएको छ । भारतले अतिक्रमण गरेको कालापानी क्षेत्र नजिक कौँवामा बीओपी राख्ने भनिए पनि अहिलेसम्म बीओपी स्थापना भएको छैन ।