काठमाडौं, साउन २७ । उपराष्ट्रपति कार्यालयको शाखा अधिकृत हुँ भन्दै ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। डोटी घर केआईसिंह गाउँपालिका वडा नम्बर ६ गते घर भई काठमाडौं कीर्तिपुर नगरपालिका वडा नम्बर ७ बस्ने २६ वर्षीय कुशल भनिने केशवराज भट्टलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको कलंकीको स्युचटारबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार भट्टले आफूलाई उपराष्ट्रपति कार्यालयका शाखा अधिकृत हुँ भन्दै चिनाउने गर्थे। उनले अहिले एक जना व्यक्तिलाई त्यसरी ३० लाखसम्म ठगी गरेको खुलेको छ। साथै थप दुई जनालाई ठग्ने तयारी गरिरहेको प्रहरीले जनाएको छ । उनीबाट कोही ठगिएको भए प्रहरीको सम्पर्कमा आउन समेत महाशाखाले अनुरोध गरेको छ। यसअघि पनि उनले यसरी नै ठगी गरेपछि साइबर क्राइम र ठगी मुद्दामा पक्राउ परेका थिए।
प्रहरीले उनको सिम कार्डसहित आइफोन बरामद गरेको छ। त्रिचन्द्र कलेज विद्यार्थको परिचय पत्र र नेपाल प्रहरी अस्पतालको ब्लड ग्रुप कार्ड पनि प्रहरीले बरामद गरेको छ।प्रहरीले उनीमाथि थप अनुसन्धान अघि बढाएको बताएको छ।













प्रतिक्रिया दिनुहोस्