जनता टाइम्स

२८ श्रावण २०७८, बिहीबार १५:३१

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियारको छापा


काठमाडौं, साउन २८ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । स्वास्थ्य उपकरण खरिदलगायतका विषयमा अनियमितता भएको समाचार बाहिर आएपछि अख्तियारको केन्द्रीय कार्यालय र इटहरी कार्यालयबाट खटिएको टोलीले आज प्रतिष्ठानमा छापा मारेको हो ।

बीपी प्रतिष्ठानमा औषधि, उपकरण खरिद, भौतिक निर्माणलगायतका शीर्षकमा प्रतिष्ठानका पदाधिकारीको मिलेमतो गरी बजार मूल्यभन्दा बढी मूल्यमा खरिद गरेको र ठेक्का लगाएको सूचना बाहिर आएपछि छापा मारिएको अख्तियारले जनाएको छ । प्रतिष्ठानमा नियमविपरित उपकुलपति डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा.गुरु खनाल, रजिष्टार डा. मोहनचन्द्र रेग्मी र निर्देशक डा. गौरीशंकर साह र लेखा प्रमुख र खरिद शाखा प्रमुखको मिलेमतोमा प्रतिष्ठानमा करोडौं रकम हिनामिना गरेको उजुरीका आधारमा अख्तियारको टोलीले प्रतिष्ठानमा छापा मारेको हो ।

टोलीले प्रतिष्ठानको लेखा शाखा, खरिद शाखा, स्टोरलगायतका शाखामा गई आवश्यक कागजपत्र नियन्त्रणमा लिएको छ । बिपि प्रतिष्ठामा भएको भ्रष्टाचारले सीमा नाघेको भन्दै कर्मचारीसमेत आन्दोलित बनेका छन ।