जनता टाइम्स

५ भाद्र २०७८, शनिबार १५:२०

हेटौंडा–७ मा विभिन्न पार्टी परित्याग ठुलो संख्यामा युवा जनशक्ति एमालेमा प्रवेश



हेटौंडा, भदौ ५ । हेटौंडा उपमहानगरपालिका वडा नंबर ७ मा विभिन्न पार्टी परित्याग गर्दै एक सय जना भन्दा बढी युवा नेपाल कम्युनिस्ट पार्टी एमालेमा प्रवेश गरेका छन् । आज भएको राष्ट्रिय युवा संघ नेपाल ७ नंबर वडा कमिटिको बृहत युवा भेलामा एक सय जना भन्दा बढी नेपाली कांग्रेस,नेकपा माओवादी,राप्रपा परित्याग गर्दै एमाले प्रवेश गरेका हुन् ।

उनिहरुलाई एमालेका केन्द्रीय सदस्य एवं बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणी पौडेल,एमाले बागमती प्रदेश सदस्य देवराज रिमाल,एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठ,नगरअध्यक्ष शालिकराम पुडासैनी लगाएतका नेताहरुले टिका र खादा लगाएर स्वागत गर्नुभएको हो । कार्यक्रममा बोल्दै एमाले हेटौंडाका नगर अध्यक्ष शालिकराम पुडासैनीले पार्टीलाई चलायमान र सक्रिय बनाउन युवाहरुको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।

उहाँले युवाहरु पार्टीसंगसंगै आयआर्जन मुलक कामहरुमा पनि जोडिन आवश्यक रहेका समते बताउनुभयो । यसैगरि भेलामा बोल्दै एमाले जिल्ला सदस्य सानु लामाले युवाहरु जागरुक भएर अघि बढ्नुपर्ने समय आएको बताउनुभयो । उहाँले हेटौंडाको विकासमा निर्वतमान मुख्यमन्त्री पौडेलको महत्वपूर्ण योगदान रहेको बताउँदै पार्टी एकताको लागि पोडेलले मुख्यमन्त्री पद त्याग गरेको स्मरण गर्नुभयो । सदस्य लामाले युवा संघ पार्टीको एक महत्वपूर्ण अंग रहेको बताउँदै देशको हरेक परिस्थितिमा आइपर्ने समस्याको सामाधन गर्न युवा संघ अग्रसर हुनुपर्ने धारणा ब्यक्त गर्नुभयो ।

उहाँले युवाहरुलाई पार्टीको काममा मात्र नभई रोजगारमूलक,सिपमूलक तालिममा जोडाएर आयआर्जन तर्फ लैजान कमिटिले तालिमहरु व्यवस्थापन गर्नु पर्ने बताउनुभयो । यसैगरि भेलामा बोल्दै जिल्ला सदस्य ध्रुब चौलागाईले निवर्तमान मुख्यमन्त्री पौडेल सरकारले जिल्लामा महत्वपूर्ण कामहरुको गरेको बताउनुभयो । प्रदेशको राजधानी हेटौंडा स्थाई गर्न देखि पार्टी एकताको लागि पद त्याग गरेको भन्दै चौलागाईले पौडेलको योगदान मकवानपुरबासीले कहिल्लै नर्बिसने समेत घोषणा गर्नुभयो । उहाँले देश र समाजलाई सुख,शान्ति र समृद्धि एमाले पार्टीले मात्र दिनसक्ने दावी गर्नुभयो । यसैगरि जिल्ला सदस्य एवं ७ नंबर वडाका वडा अध्यक्ष राजन थापाले आफ्नै पार्टीका केहि नेताको कारण एमाले केन्द्र सरकारबाट बाहिरिनु परेको बताए । उनले पार्टीका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी ओलि सरकारबाट गाउँ गाउँमा विकासका कामहरु भएको बताउनुभयो ।

उहाले आफ्नो वडामा पनि विकासका कामहरु भईरहेको बताउँदै आउँदो स्थानीय निर्वाचनमा पनि एमालेनै विजयी हुने दाबी गर्नुभयो । उहाँले आफनो वडामा पार्टीका ३ सय संगठित सदस्यहरु गोलबन्ध रहेको बताउनुभयो । थापाले आउँदो स्थानीय निर्वाचन केन्द्रित भएर पार्टीको कामहरु अघि बढाउन आग्रह समेत गर्नुभयो । यसैगरि भेलामा बोेल्दै एमाले जिल्ला अध्यक्ष एकलाल श्रेष्ठले विदेशी शक्ति र आफ्नै पार्टीका केहि नेताहरुको कारण जनादेशको सरकार गुमेको बताउनुभयो । उहाँले वर्तमान परमादेशको सरकारले भूमी आयोग खारेज गरेर भूमीहिन जनताको पेटमा लात हान्ने काम गरेको बताउनुभयो।

अध्यक्ष श्रेष्ठले सरकारले जनताको अधिकारहरु खोस्न लागेको पनि बताउनुभयो । उहाँले भन्नुभयो सरकारले जनता संग प्रत्यक्ष जोडिने स्थानीय सरकारलाई प्रदेश माताहत राख्न खोज्दैछ,यस्ले जनताको अधिकार खोस्ने छ । वर्तमान सरकारले जनविरोधी कामहरु गरिरहे त्यसविरुद्ध युवाहरु एक ढिक्का हुनुपर्ने बताउँदै श्रेष्ठले केहि व्यक्ति पार्टीबाट बाहिरिए पनि एमाले जनताको मनमनमा बसेको दावी गर्नुभयो । उहाँले एमाले पार्टी सदैव ‘समृद्ध नेपाल, सुखी नेपाली’को यात्रामा रहेको बताउनुभयो । यसैगरि भेलालाई सम्बोध गर्दै बागमती प्रदेशका निर्वतमान मुख्यमन्त्री पौडेलले आफुले प्रदेशको नेतृत्व लिईरेको अवस्थामा हेटौंडालाई प्रदेशको राजधानी स्थाई बनाउनुको साथै जिल्लामा महत्वपूर्ण विकासका कामहरु भएको जानकारी गराउनुभयो ।

उहाँले मकवानपुरकै केहि प्रदेश सदस्यले प्रदेशका राजधानी हेटौंडा राख्न नमानिरहेको अवस्थामा समेत स्थाई रुपमा प्रदेशको राजधानी हेटौंडा राख्न आफु सफल भएको समेत दावी गर्नुभयो ।

पौडेलले माधव नेपालले प्रधानमन्त्री र अध्यक्ष पदको लागि पार्टी फुटाउने काम गरेको बताउनुभयो । पौडेलले भन्नुभयो पदको लागि माधव नेपालले पार्टी फुटाए,मैले पार्टीको लागि मुख्यमन्त्री पद त्यागे । अब फरक आफै छुट्याउनुहोस् पद ठूलो की पार्टी ? मान्छे चिन्नुपर्ने बेला आएको छ । पदको लागि पार्टी त्याग्ने की पार्टीको लागि पद त्याग्ने ? पौडेलले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को यात्रा नरोकिने बताउनुयभो । उहाँले प्रदेशमा आफ्नै पार्टीको नेतृत्व रहेको बताउँदै आउँदा दिनहरुमा पनि विकास निमार्णका कामहरु अघि बढ्ने बताउनुभयो ।