काठमाडौं, भदौं ६ । सत्तारुढ नेकपा माओवादी केन्द्रभित्र अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डबिरुद्ध बिद्रोह सुरु भएको छ । माओवादीमा प्रचण्डपछि सवैभन्दा प्रभावशाली नेता तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले नै बिद्रोहको सुरुवात गर्नुभएको हो ।
प्रवक्ता श्रेष्ठले आज बसेको स्थायी कमिटी बैठकमा प्रवक्ता त्यागेको घोषणा गर्नुभएको छ । ‘उहाँ (नारायणकाजी) ले एकाएक प्रवक्तामा नरहने घोषणा बैठकमा गर्नुभयो, अध्यक्षप्रतिको चरम असन्तुष्टि पनि देखियो, आजको बैठकमा उहाँले ब्यक्त गरेको भनाई सुन्दा पुरै बिद्रोह जस्तो थियो,’ बैठकमा सहभागी एक नेताले जनताटाइम्ससँग भने ।
प्रधानमन्त्री शेरबहादुर देउवासँग साँठगाँठ गरी प्रचण्डले सरकारमा जानबाट रोक्ने षडयन्त्र गरेपछि श्रेष्ठले बिद्रोहको संकेतसहित प्रवक्ताबाट राजीनामा दिने बताएको ती नेताको भनाई छ । नारायणकाजीको यो घोषणालाई अध्यादेशको पूर्वसंकेतको रुपमा लिइएको छ । सरकारमा पठाउने मन्त्रीको छनोट भएसँगै माओवादीमा बिद्रोहले अन्तिम रुप पाउने बताइएको छ ।
स्रोतका अनुसार अध्यक्ष प्रचण्डले आफूलाई भेटन आउनु भएका श्रेष्ठलाई नभेटनका लागि बिरामीको नाटक गरेको बिषय समेत बैठकमा उठेको छ । केही दिनअघि श्रेष्ठ प्रचण्ड भेटन खुमलटार पुग्दा नभेटेको र पछि बिरामीको नाटक गरेको श्रेष्ठ निकट नेताहरुको बुझाइ छ । सरकारमा श्रेष्ठलाई जानबाट रोकेर आफ्नो बिश्वासपात्र पठाउने प्रचण्डको योजनाबारे श्रेष्ठले पहिला नै जानकारी पाएपछि छलफलका लागि खुमलटार पुगेको तर प्रचण्डले नभेटेपछि बिद्रोहको घोषणासहित प्रवक्ता त्याग्ने जानकारी गराएको ती नेताले जनताटाइम्सलाई बताए ।













प्रतिक्रिया दिनुहोस्