जनता टाइम्स

९ असार २०७६, सोमबार ११:२९

टेलिकमकाे एउटै केबलबाट टेलिफोन र इन्टरनेट प्रयोग गर्न सकिने सेवाकाे शुरुवात


काठमाडौं,

नेपाल टेलिकमले एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुत गतिको इन्टरनेट प्रयोगमा ल्याउन सकिने एफटीटीएच सेवाको शुरुवात धनकुटामा पनि गरेको छ । कम्पनीले एफटीटीएच अर्थात फाइबर टु द होम सेवाको औपचारिक शुभारम्भ गरेको हो ।

धनकुटामा आयोजित एक कार्यक्रममा एफटीटीएच प्रविधिमार्फत सञ्चालित टेलिफोनबाट प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीलाई काठमाडौंमा फोन गरेर सेवाको उद्घाटन गर्नुभएको थियो ।

सो अवसरमा मुख्यमन्त्री राईले प्रदेश नम्बर १ लाई डिजिटल प्रदेश बनाउने प्रतिबद्धता व्यक्त गर्दै समृद्ध र डिजिटल नेपाल बनाउने अभियानको नेपाल टेलिकम महत्वपूर्ण सहयात्री रहेको उल्लेख गर्नुभयो । उहाँले ०७६ सालभित्रमा प्रदेश १ का सबै स्थानीय निकाय र शहरहरुमा यो सेवा विस्तार गर्ने तयारी भइरहेको र सो कार्यमा नेपाल टेलिकमको सहयोग रहने बताउदै प्रविधिको भरपुर उपयोग गरी जीवन सहज र समृद्ध बनाउन आव्हान पनि गर्नुभयो ।

मुख्यमन्त्री राईसँगको कुराकानीमा प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले मुलुकलाई डिजिटलाइज्ड गर्न कम्पनी सक्रिय रहेको र एफटीटीएच सेवालाई अझै लोकप्रिय र प्रभावकारी बनाउन यसमार्फत श्रव्यदृश्य समेत उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा वायरलाइन तथा ग्राहक सेवा निर्देशनालयका निर्देशक प्रमोद कुमार परमारले नेपाल टेलिकमले पुरानो र खर्चालु तामाको तारबाट टेलिफोन र इन्टरनेट उपलब्ध गराउने प्रविधिलाई विस्थापित गर्दै फाइबरमार्फत गुणस्तरीय र द्रुत गतिको सेवा देशभर उपलब्ध गराउने क्रममा धनकुटामा प्रारम्भिक चरणमै शुभारम्भ गरिएको बताउनु भयो ।