जनता टाइम्स

१२ कार्तिक २०७८, शुक्रबार १४:३८

तालिवानसँग सहकार्यको नीतिमा अमेरिका : अफगानिस्तानलाई १७ अर्ब रुपैयाँ सहयोग गर्ने घोषणा


वासिङटन डिसी, कात्तिक १२ । तालिबानहरूले सत्ता चलाइरहेको अफगानिस्तानमा मानवीय सहायता उपलब्ध गराउन संयुक्त राज्य अमेरिकाले १४ करोड ४० लाख डलर (१७ अर्ब बढी रुपैयाँ) दिने भएको छ। अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले सामाजिक सञ्जाल ट्वीटरमार्फत् उक्त रकम सहयोग गर्न लागेको जानकारी दिनुभएको हो ।

उहाँका अनुसार अफगानिस्तानलाई युएसएड र अमेरिकी विदेश मन्त्रालयले उक्त रकम दिन लागेका हुन्। अफगानिस्तानमा अहिले खाद्यान्न अभावको समस्या चुलिएको छ। सहयोग रकम मानवीय सहायतासम्बन्धी स्वतन्त्र संस्थाहरूमार्फत् अफगान नागरिकसम्म पुर्‍याइने बताइएको छ। यो रकम पोषण, आधारभूत स्वास्थ्य सेवा, कृषिलगायत क्षेत्रमा खर्च हुने छ।

योसहित अफगान शरणार्थीको पुनर्स्थापनालगायत विषयमा सन् २०२१ मा मात्रै ४७ करोड ४० लाख डलर अफगानिस्तान सहयोग गरेको अमेरिकाले जनाएको छ। गत अगस्ट १५ मा अमेरिकासमर्थित सरकारलाई हटाएर तालिबानले काबुल कब्जा गरेका थिए। तालिबान सरकारलाई हटाएर २० वर्षदेखि अफगानिस्तान सेना पठाएको अमेरिका अगस्ट अन्तिममा तालिबानलाई नै काबुलको सत्ता छोडेर बाहिरिएको थियो।

तालिबान सत्तामा आएपछि अफगानिस्तानमा अन्तर्राष्ट्रिय सहायता रोकिएको छ भने अमेरिकी बैंकमा रहेको उसको सञ्चित रकममा पनि प्रतिबन्ध लगाइएको छ। अमेरिकाको पछिल्लो यो निर्णयसँगै तालिावानसँग सहकार्यको नीतिमा अमेरिका अघि बढेको संकेत गरेको बिश्लेषकहरुले बताएका छन ।