जनता टाइम्स

२२ कार्तिक २०७८, सोमबार १५:१५

एमालेले पाण्डेको विपक्षमा मतदान गर्ने


हेटौंडा, कात्तिक २२ । नेकपा (एमाले)ले वाग्मती प्रदेशको मुख्यमन्त्री राजेन्द्रकुमार पाण्डेलाई विश्वासको मत नदिने जनाएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज दिउँसो बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री पाण्डेलाई मत नदिने भएको हो । मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदैछन् ।

एमालेको हेटौंडामा बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री पाण्डेद्वारा प्रदेशसभामा प्रस्तुत गरिएको विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको मुख्य सचेतक दीपक निरौलाले जानकारी दिनुभयो । वाग्मती प्रदेशमा यसअघि नेकपा एमालेबाट डोरमणि पौडेल र अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनिसक्नुभएको छ । एमालेसँग हाल सभामुखसहित सदनमा ४३ मत छ ।

‘प्रदेशसभामा हाम्रो भूमिका फेरिएको छ । हामी पहिलो पटक प्रतिपक्षीको रुपमा प्रस्तुत भएका छौं । अब हामी सशक्तरुपमा प्रस्तुत हुनुपर्छ,’ संसदीय दलका नेता अष्टलक्ष्मी शाक्यले बैठकमा भन्नुभयो,‘हामी कमजोर भएको खण्डमा सरकार गलत बाटोमा जान्छ । त्यसकारण योजना बनाएर अगाडि बढ्न जरुरी रहेको छ ।’