जनता टाइम्स

२४ कार्तिक २०७८, बुधबार ०८:४०

सुनसरी एमालेको बिवाद मिल्यो : दुवै समानान्तर समिति मर्ज, पोखरेल अध्यक्ष


इटहरी, कात्तिक २४ । सुनसरीमा नेकपा एमालेभित्र उत्पन्न भएको विवाद समाधान भएको छ । दुवै समानान्तर समिति मर्ज भएर खेमराज पोखरेलको अध्यक्षतामा नयाँ जिल्ला कमिटी गठन गरी बिवाद समाधान गरिएको हो । सुनसरीमा एमालेका दुईवटा समानान्तर समिति अस्तित्वमा थिए ।

रेवतिरमण भण्डारी नेतृत्वको कमिटी २०७७ फागुन एक गतेमा बनेको हो भने नेकपा एकता अगाडिको रमेश बस्नेत नेतृत्वको समिति पनि व्यूतिएको थियो । तर, गत कात्तिक ८ गते केन्द्रबाट आएको पत्रले भने नयाँ दिशानिर्देश गर्यो । एमालेको कार्यदलका संयोजक सुभाष नेम्बाङ र सदस्य भीम आचार्यको हस्ताक्षरमा पत्र रमेश बस्नेतलाई पत्र आएको थियो ।

‘निर्णय कार्यान्वयन गर्ने सम्बन्धमा’ भन्दै आएको पत्रमा बस्नेतको नेतृत्वमा जिल्ला अधिवेसन आयोजक कमिटी बनाउन निर्देश गरिएको थियो । सहसंयोजकमा नन्दकुमार बस्नेत र निलम खनाल, सचिवमा पर्शुराम यादव र उपसचिवमा लिलम बस्नेत रहने तथा सदस्यमा दुवै जिल्ला कमिटीका सदस्य रहने पत्रमा उल्लेख थियो ।

यस्तै आगामी पौष महिनाभित्र जिल्ला अधिवेसन आयोजना गर्ने नेताद्वयले निर्देशन दिनुभएको थियो । मातहतका कमिटी मिलाउन धर्म निरौला संयोजक र भगवती चौधरी, जगदिस कुसियैत, तैयब हुसेन, रेवती भन्डारी, रमेश बस्नेत र मुरारी सुवेदी सदस्य भएको कार्यदल बनाउन समेत पत्रमा भनिएको थियो । सो पत्र आएपछि जिल्लामा दुई समानान्तर कमिटी भंग गर्न बाटो खुलेको हो ।

यसअनुसार दुवै कमिटीका अध्यक्ष जिल्ला कमिटीको भूमिकाबाट विदा हुनुहुने भएको छ । आजै खेमराम पोखरेल नेतृत्वमा नयाँ जिल्ला कमिटी बन्ने भएको छ । पोखरेल २०५४ सालको चुनावबाट सुनसरी सदरमुकाम इनरुवाको मेयर निर्वाचित हुनुभएको थियो । इनरुवाका रैथाने र प्रदेश कमिटीका बरिष्ठ नेता पोखरेल अध्यक्ष भएको कमिटीमा नन्द बस्नेत र निलम खनाल उपाध्यक्ष हुनुहुनेछ ।

यस्तै, पर्शुराम यादव र सत्रुधन यादव सचिव तथा लिलम बस्नेत बन्ने तय भएको छ । दुवै कमिटीका सदस्यलाई अधिवेशन आयोजक कमिटीमा स्थान दिइएको छ । इनरुवाको सखुवागाछीको पार्टी प्यालेसमा आज ११ बजे हुने भेलाले नयाँ कमिटी चयन गर्ने तत्कालीन संविधानसभाका सदस्य समेत रहेका रेवती भण्डारीले जानकारी दिनुभयो ।