काठमाडौं, ३ मंसिर । नेकपा एमालेका उप–महासचिव विष्णु पौडेलले मूलुकमा आर्थिक समृद्धि हासिल गर्ने कार्यभारको मूल नेतृत्व एमालेले गर्ने बताउनुभएको छ । पार्टीको भातृ संस्था ‘नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ’ को राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले उद्योगी व्यवसायीमैत्री कानुन र लगानीमैत्री वातारण निर्माण गर्न एमाले बाहेक अन्य दलले नसक्ने जिकिर गर्नुभएको हो ।
उहाँले भन्नुभयो, ‘नेपालको समृद्धि, विकास, सामाजिक न्याय र समाजवादको नेतृत्व एमालेले गर्नेछ । यसका लागि उद्योगी व्यवसायी साथीहरु अग्र पंक्तिमा लाग्नुपर्नेछ, तपाईहरुलाई उद्यम गर्न, व्यवसाय गर्न आईपरेका कानुनी अड्चन पार्टी स्पष्ट बहुमतका साथ सरकारमा पुगेपछि फुकाउनेछ, यसका लागि कम्तिमा तपाईहरुले चुनावसम्म धैर्यता राख्नुपर्ने हुन्छ ।’
पूर्व अर्थमन्त्रीसमेत रहनुभएको नेता पौडेलले नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ पार्टीमा भएकै कारण एमालेले समृद्धिको सपना देखेको भन्दै उक्त सपना पूरा गर्न सबै उद्योगी व्यवसायी यो महासंघमा एकतावद्ध हुनुपर्ने पनि बताउनुभयो । उहाँले उद्योगी व्यवसायीका समस्या महासंघमार्फत पार्टी नेतृत्वका सामू लिएर आउन आग्रह गर्दै ती समस्या समाधान गर्न पार्टी सधैँ तयार रहेको पनि बताउनुभयो ।
विगतमा अन्य भातृ संस्थाले राजनीतक आन्दोलनको नेतृत्व सम्हालेको स्मरण गर्दै पौडेलले अब राष्ट्रिय उद्योग व्यवसाय महासंघले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय अभियानको नेतृत्व गर्ने पनि बताउनुभयो । यस्तै उहाँले एक अर्को प्रसंगमा एमालेबाट छुट्टिएर गएका र सत्ता सञ्चालनमा रहेका ५ दलले विकास, समृद्धि र देशको स्वाभिमानका विषयमा कहिल्यै कुरा नगरेको भन्दै मूलुक बनाउनुपर्छ भन्ने भावना एमाले बोहक अरु दलसँग नभएको पनि दाबी गर्नुभयो ।
एमालेको दशौँ महाधिवेशनलाई सघाउ पुग्ने गरि संगठन निर्माण तथा सुदृढिकरण अभियानको सन्दर्भमा एमालेको भातृ संस्था ‘नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ’ ले आयोजना गरेको उद्योगी व्यवसायीहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पौडेलले एमालेको बहुमतको सरकार नबन्दासम्म उद्योगी व्यवसायीको माग पुरा नहुने बताउनुभयो । कार्यक्रममा एमाले स्थायी कमिटी सदस्यसमेत रहनुभएको नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघका इन्चार्ज लेखराज भट्टसहित नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघका पदाधिकारीहरुको पनि उपस्थिती रहेको थियो।
नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको अध्यक्षमा एलपी सावाँ लिम्बु रहनुभएको छ भने महासंघको वरिष्ठ उपाध्यक्षमा भीमलाल पौड्याल हुनुहुन्छ । त्यस्तै सातै प्रदेश र उपत्यका प्रदेश तथा कर्पोरेट गरि ९ जना उपाध्यक्ष रहनुभएको छ । एक नम्बर प्रदेशका उपाध्यक्षमा परशुराम अधिकारि, प्रदेश नम्बर दुईमा शिवजी प्रसाद, बागमतीमा डीबी बस्नेत, गण्डकीमा राम बहादुर गुरुङ, लुम्बिनीमा डेकनाथ गौतम, कर्णालीमा तोप बहादुर बिसी, सूदूरपश्चिममा सुर्य थापा र कर्पोरेट तर्फबाट उपाध्यक्षमा गोपाल खनाल हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्