जनता टाइम्स

५ मंसिर २०७८, आईतवार १९:५८

समवेदना दिन माधवले गरे हेलिकोप्टर चार्टर : मलामी जाँदा मुस्कान, घाटमै लम्बेतान भाषण


उदयपुर, मंसिर ५ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको अध्यक्ष माधवकुमार नेपाल र प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले पुत्रशोकमा परेका उदयपुरको त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेव चौधरीलाई घरमै पुगेर समवेदना दिनुभएको छ । अध्यक्ष नेपाल र मुख्यमन्त्री राईले त्रियुगा नगरपालिका–११ गाईघाटस्थित घरमै पुगेर चौधरी र परिवारजन प्रति समवेदना दिनुभएको हो ।

शनिबार पिकनिक जाँदा पौडी खेल्ने क्रममा डुबेर नगर प्रमुख चौधरीका २८ वर्षीय छोरा पशु चिकित्सक मनोज चौधरीको मृत्यु भएको थियो ।
पुत्रशोकमा परेका पार्टीका प्रदेश १ को अध्यक्षसमेत रहेका नगर प्रमुख चौधरीलाई अध्यक्ष नेपाल र मुख्यमन्त्री राईले सान्त्वना दिनुभएको छ । नगर प्रमुख चौधरी पुत्रको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाई श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

अध्यक्ष नेपाल शव यात्रासँगै त्रियुगा नदीको घाटसम्मै पुग्नुभएको थियो । हेलिकप्टरबाट पौने १२ बजे गाईघाट उत्रिनुभएका नेपाल करिब तीन घण्टा बिताएर समवेदना प्रकट गरी काठमाडौं फर्किनुभएको छ ।