जनता टाइम्स

१४ मंसिर २०७८, मंगलवार ०९:४८

एमाले महाधिवेशन : साढे १६ सय मतदाताले गरे मतदान


चितवन, मंसिर १४ । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनमा मंगलबार बिहान ४ बजेबाट मतदान जारी छ । यो समाचार तयार गर्दासम्म साढे १६ सय प्रतिनिधिले मतदान गरिसकेका छन् ।

महाधिवेशनमा २१ सय ५३ जना मतदाता रहेका छन् । साढे १६ सय भन्दाबढी मतदाताले मतदान गरिसकेको निर्वाचन समितिका सदस्य बाबुराम दाहालले बताउनु भयो । सोमबार राति २ बजेबाट मंगलबार बिहान ८ बजेससम्मका लागि मतदानको समय तोकिए पनि मंगलबार बिहान ४ बजेबाट मात्र मतदान सुरु भएको थियो । जसअनुसार बिहान १० बजेसम्म मतदान भइसक्ने आँकलन आयोगले गरे पनि फेरि समय थप गर्नुपर्ने देखिएको छ ।

दाहालका अनुसार बिहान ११ बजेसम्म मतदान सम्पन्न हुने आँकलन गरिएको छ । एमालेको अध्यक्षमा केपी शर्मा ओलीलाई भीम रावलले चुनौती दिनुभएको छ । यस्तै६ जना उपाध्यक्षका लागि सात जना र सात सचिवका लागि नौ जनाले उम्मेदवारी दिएका छन् । यस्तै पुरुषतर्फको ८४ जना खुला केन्द्रीय सदस्यका लागि एकसय जना उम्मेद्वार रहेका छन ।