काठमाडौं, मंसिर १६ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षका उम्मेद्वार राजेन्द्र लिङदेनले आफ्नो प्यानलबाट पदाधिकारीको फाइनल गर्नुभएको छ । लिङदेलले चार उपाध्यक्ष र महामन्त्री पदमा आफ्नो प्यानलका उम्मेदवारको नाम टुंगो लगाउनु भएको हो ।
राप्रपामा एक महिलासहित चार उपाध्यक्ष प्रतिनिधिको भोटबाट निर्वाचित हुने व्यवस्था छ । महिला उपाध्यक्षमा लीला श्रेष्ठ लिङदेन समुहकी उम्मेदवार बन्ने हुनुभएको छ । यस्तै तीन उपाध्यक्षमा दिलविकास राजभण्डारी, विक्रम पाण्डे र रामचन्द्र राय लिङदेलको प्यानलबाट चुनावमा प्रतिस्पर्धा गर्ने हुनुभएको छ ।
यस्तै तीन महामन्त्री पदका लागि क्रमशः डा. धवल शम्शेर राणा, श्याम तिमिल्सिना र रेखा थापाले उम्मेदवारी दिने हुनुभएको छ । राप्रपामा एक महिलासहित ३ महामन्त्री रहने व्यवस्था छ । उपाध्यक्ष र महामन्त्री बाहेकका पदाधिकारीको भने चुनाव नहुने ब्यवस्था बिधानले गरेको छ । अन्य पदमा अध्यक्षले मनोनित गर्ने प्रावधान रहेको छ ।
राप्रपामा १९९ केन्द्रीय सदस्यमध्ये १४९ जनाको चुनाव हुने ब्यवस्था छ । अध्यक्षका अर्का आकांक्षी कमल थापाको प्यानल भने टुंगो लागेको छैन । उक्त प्यानलबाट महिला महामन्त्रीमा कुन्ती शाहीको चर्चा छ । बुधवारबाट सुरु भएको राप्रपा महाधिवेशनमा शुक्रवार निर्वाचन हुने कार्यतालिका रहेको छ ।













प्रतिक्रिया दिनुहोस्