जनता टाइम्स

२२ मंसिर २०७८, बुधबार १८:२८

देउवाले बनाए केन्द्रीय सदस्य छान्ने कोर टीम, यी ९ नेताले पाए जिम्मेवारी


काठमाडौं, मंसिर २२ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबारदेखि सुरू हुने १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य उम्मेदवार बन्न चाहनेहरूको सूची तयार पार्न ९ जना नेतालाई जिम्मेवारी दिनुभएको छ । देउवाको बुढानिलकण्ठस्थित निवासमा आज बसेको बैठकले प्रदेशअनुसार केन्द्रीय सदस्यका आकांक्षीको सूची बनाउन ९ जना नेतालाई जिम्मेवारी तोकेको हो ।

प्रधानमन्त्री देउवा यसपटक सभापतिमा निर्वाचन लडने घोषणा गरिसक्नु भएको छ । देउवा समुहको बैठकले प्रदेश १ मा ज्ञानेन्द्रबहादुर कार्की, सुदूरपश्चिममा एनपी साउँद र रमेश लेखक, कर्णालीमा पूर्णबहादुर खडका र जीवनबहादुर शाही, लुम्बिनीमा बालकृष्ण खाण, गण्डकीमा गोपालमान श्रेष्ठ, बागमतीमा डा. प्रकाशशरण महत र प्रदेश २ मा रमेश रिजाललाई जिम्मेवारी तोकेको हो ।

कांग्रेस बिधानअनुसार १६७ सदस्यीय केन्द्रीय समिति रहेको छ । त्यसमध्ये ३३ जना मनोनित हुन्छन भने १३४ जना चुनावबाट निर्वाचित हुनेछन । १३४ मध्ये ३५ जना खुला केन्द्रीय सदस्य रहेका छन भने बाँकी ९९ जना विभिन्न कलस्टरबाट छानिन्छन । सोहीअनुसार सूची बनाउन सभापति देउवाले आफू निकट नेताहरुलाई जिम्मेवारी दिनुभएको हो ।

देउवा पक्षबाट पदाधिकारीमा को–को उम्मेदवार हुने भन्ने कुरा पनि टुंगिन बाँकी छ । यस विषयमा छलफल गर्न आज बैठक बसेको थियो तर कुनै निर्णय भने भएन । देउवा समुहभित्रबाटै १३ जना पदाधिकारीको नाम भने बाहिर ल्याइएको छ । सो बिषयमा बिवाद भएपछि केही संशोधन हुने बताइएको छ ।