काठमाडौं, २८ मंसिर । कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको चुनावको प्रारम्भिक मतपरिणाममा सभापतिमा शेरबहादुर देउवाले अग्रता बनाउनुभएको छ । अहिलेसम्म १ हजार मत गनिसक्दा देउवाले ४७३ मत पाउनुभएको छ । त्यस्तै अर्का उम्मेदवार शेखर कोइरालाले ३७६ र प्रकाशमान सिंहले ९१ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै विमलेन्द्र निधिले ४९ मत प्राप्त गर्दा कल्याण गुरुङको नाममा भने ३ मत मात्र प्राप्त भएको छ ।मंगलबार बिहान पौने ४ बजेदेखि मतगणना सुरु भएको हो । पहिलो चरणमा सभापतिको मतगणना सुरु भएको हो । बिहान ११ बजे सुरु भएको मतदान राति साढे ११ बजे सम्पन्न भएको थियो ।कूल ४ हजार ७ सय ४३ मतदातामध्ये ४ हजार ६ सय ७९ मत खसेको कांग्रेस केन्द्रीय कार्यालय सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
सभापतिको मत गणनापछि दोस्रो चरणमा पदाधिकारीहरुको र तेस्रो चरणमा केन्द्रीय सदस्यहरुको मतगणना पार्टी कार्यालय सानेपामा हुने बताइएको छ । सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेमा शीर्ष दुईबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ ।१४औं महाधिवेशनबाट सभापतिसहित २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्रीसहित १३ पदाधिकारी र १ सय २१ सदस्य निर्वाचित हुनेछन् ।













प्रतिक्रिया दिनुहोस्