जनता टाइम्स

१५ असार २०७६, आईतवार १५:५६

५ लाख युवालाई रोजगार दिनको लागि निजी क्षेत्र र सहकारीको सहयोग आवश्यकः मन्त्री विष्ट


काठमाडौं, असार १५

राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन काठमाडौंमा शुरु भएको छ । दुई दिन सम्म चल्ने सम्मेलन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ ।

सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले श्रम बजारको समस्या समाधन गर्न सम्मेलन आयोजना गरिएको बताउनु भयो । श्रमबजारमा नेपालीहरुले इमानदारिताका साथ काम गर्ने भएकाले विदेशमा नेपाली कामदार खोज्ने धेरै भएको बताउनु भएको छ ।


त्यस्तै कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले नेपालमा हरेक वर्ष करिब ५ लाख युवा जनशक्ति उत्पादन हुने भन्दै तिनलाई रोजगारी सिर्जना गर्नु चुनौति भएको बताउनु भएको छ ।
उहाँले नेपालमा ३८ प्रतिशत युवालाई व्यवस्थीत गर्दै देश विकास गर्नुपर्ने बताउनु भयो । २०३० सम्म नेपाली युवा शक्ति घटेर २५ प्रतिशतमा झर्ने बताउँदै अहिले युवालाई सहि परिचालन गर्न सके देश विकास सजिलै गर्न सक्ने धारणा व्यक्त गर्नुभयो ।

आगमि आर्थिक वर्षमा ५ लाख युवालाई रोजगारी दिने सरकारको योजना एक्लैले पूरा गर्न नसक्ने बताउँदै मन्त्री विष्टले निजी क्षेत्र, सहकारीको पनि महत्वपूर्ण भुमिका हुने बताउनु भयो ।

कार्यक्रमा नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रमेश लेखकले समृद्धीको कुरा गर्दा बेरोजगार सबैभन्दा ठुलो समस्या रहेको बताउनु भयो । उहाँले वैदेशिक रोजगारलाई व्यव्यस्थीत र सुरक्षित गर्दै स्वदेशमा रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । अहिले परिणमलाई मात्र काम भन्ने अवधारणा विकास भएको भन्दै भाषण वा छलफलले मात्र काम नदेखिने बताउनु भयो ।