जनता टाइम्स

२० पुष २०७८, मंगलवार १८:१५

सुर्खेत एमाले अध्यक्षमा पाँच जना आकांक्षी


सुर्खेत, पुस २० । नेकपा एमाले सुर्खेतको अध्यक्षमा पाँच जना आकांक्षी देखिएका छन् । एमाले सुर्खेतको सोमबार बसेको सचिवालय बैठकमा जिल्ला कमिटीभित्रका पाँच जनाले अध्यक्षमा आकांक्षा देखाएका हुन् ।

प्रदेश कमिटी सदस्य कुलमणि देवकोटा, वर्तमान जिल्ला कमिटीका उपाध्यक्ष अमृत बिसी, जिल्ला कमिटी सदस्यहरू डण्डीप्रसाद शर्मा, हरिहरनाथ योगी र ऐनबहादुर चन्दले अध्यक्षको दाबी गर्नुभएको छ । यही २३ पुसमा हुने जिल्ला अधिवेशनमा ५ जना साथीको जिल्ला अध्यक्षमा आकांक्षा देखाएको जिल्ला अध्यक्ष ध्रुवकुमार शाहीले बताउनु भयो ।

‘सचिवालय बैठकमा साथीहरूले नेतृत्वमा आकांक्षा प्रस्तुत गर्नु भएको छ तर सर्वसहमतिमा नेतृत्व छान्ने प्रस्ताव जिल्ला कमिटी बैठकमा लैजाने निर्णय भएको छ,’ उहाँले भन्नुभयो, ‘जिल्ला कमिटीको बैठक २२ पुसमा बोलाएका छौँ ।’

अन्य पार्टीसँग प्रतिस्पर्धा गर्नसक्ने एवं पार्टीलाई मजबुत बनाउनका लागि आफूले नेतृत्व लिने चाहेको टेवकोटाले बताउनु भयो । अहिले एमाले सुर्खेतलाई एकताबद्ध गर्न नयाँ नेतृत्वको आवश्यकता रहेको र त्यसका लागि आफू नै उपयुक्त रहेको बिसीको भनाइ छ । वर्तमान कमिटीमा उपाध्यक्ष भएकाले पनि अध्यक्षमा दाबी स्वभाविक हुने उहाँको भनाइ छ ।