जनता टाइम्स

१७ असार २०७६, मंगलवार ०७:५१

प्रधानमन्त्री ओलीलाई विगतका सरकारले अध्ययननै गर्न नसकेको प्रतिवेदन बुझाइयो


काठमाडौं, १७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानव संसाधन प्रक्षेपण कार्यदलले सोमवार प्रतिवेदन बुझाएको छ ।

मानव संसाधन निर्देशक समितिका अध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रधानमन्त्री ओलीलाई सोमवार साँझ बालुवाटरमा उक्त प्रतिवेदन बुझाउनुभएको हो ।

सरकारले गत असोज २८ गते डा रुद्र सुवालको अध्यक्षतामा सो कार्यदल गठन गरेको थियो । कार्यदलको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री ओलीले यस प्रतिवेदनले भविष्यमा देशमा आवश्यक पर्ने जनशक्ति र रोजगारीको सम्भावना बीचको तालमेल खोज्न सजिलो हुने बताउनुभयो । “यसअघि मिहीन ढङ्गले यस प्रकारको अध्ययन भएको थिएन”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “यस अध्ययनले हामीलाई गन्तव्यमा पुग्न सहज हुने मैले विश्वास लिएको छु ।”

उहाँले एकातिर शिक्षित व्यक्ति बेरोजगार हुने अर्कोतिर चाहिएको जनशक्ति उपलब्ध नहुने अवस्थाको अब अन्त्य हुने समेत बताउनुभयो ।

“अहिलेको अवस्थामा हाम्रो आवश्यकता र जनशक्तिबीच भेट हुँदैन”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “यस प्रतिवेदनमार्फत सरकारले जनशक्ति र देशको आवश्यकताका बारेमा विभिन्न कोणबाट विश्लेषण गर्नेछ ।”