प्रकाश तिम्सिना/सुनसरी । कोशी गाउँपालिका–५ का अस्गर अलीको १३ वर्ष अघसम्म आफ्नो चार बिघा जमिनमा वार्षिक चार सय मन धान उत्पादन हुन्थ्यो । घरको आम्दानीको स्रोत नै धान बाली थियो । परिवारलाई वर्षभरि पुग्ने धान राखेर उहाँ अरू बिक्री गर्नुहुन्थ्यो । तर, २ भदौ २०६५ मा कोशी नदीले बाँध फुटाएर जब खेती योग्य जमिनमा पस्यो, तब उहाँको सबै सपना उडाइदियो ।
कोशीको बाढीले बगाएपछि घर खर्च चलाउन समस्या नहुने उहाँलाई कसरी घर चलाउने भन्ने चिन्ता थियो । १३ वर्षसम्म आफ्नो जग्गामा बालुवाबाहेक केही नदेखेका अस्गर अहिले भने त्यही बालुवा आम्दानीको गतिलो स्रोत बनेको छ । दुई वर्षअघि भारतको राजस्थान भ्रमण गरेर बालुवामा कागती खेती सुरु गर्नुभएका अस्गरले अहिले दुई बिघामा सुन कागती लगाउनु भएको छ । गाउँपालिकाले बिरुवा, पानी तान्ने मोटरपप्प सहयोग गरेपछि उहाँ कागती खेतीमा लाग्नुभएको हो । डेढ वर्षको अवधिमा उहाँले बालुवामा कागती फलाएर एक लाख ५० हजार आम्दानी समेत गरिसक्नु भएको छ ।
धान फल्ने खेत बालुवामा परिणत हुँदा मनमा तनाव लिने अस्गर अहिले भने त्यही बालुवामा आम्दानीको गतिलो सपना देख्न थाल्नुभएको छ । सुरुमा दुई बिघाबाट थालेको कागती खेती उहाँले चार बिघामा लगाउनु भएको छ । अस्गर जस्तै सोही ठाउँका साहबुद्दिन हाक पनि कागती खेतीमा लागेका छन् । १० वर्ष विदेश बसेर आएका उनी अहिले दुई बिघा क्षेत्रफलमा कागती खेती गरेका छन् । उत्पादन र बिरुवा राम्रो भएपछि आफ्नो चार बिघामा जग्गामा कागती खेतीसमेत लगाउने तयारीमा छन् ।
सुरु देखि नै बिरुवा राम्रो भएपछि उनी कागती खेतीलाई अझ बढाउने तयारीमा हुनुहुन्छ । नदीले बगर बनाएको खेतीलाई १३ वर्ष बाँझो देखेर विरक्तिएका हाक अहिले भने विदेशमा भन्दा राम्रो कमाइ हुने आशमा लागि परेका छन् । ‘अहिले मलाई विदेशमा भन्दा धेरै कमाइ हुन्छ जस्तो लागेको छ । विदेशमा बिहान ८ बजेदेखि राति १० बजेसम्म काम गर्नु पर्थ्यो । मनमा चिन्ता उस्तै हुने, अहिले आनन्द छ । घरको खाएर आफ्नै बारीमा मेहनत गर्न पाउनु भाग्यको कुरा हो । म खुसी छु,’ उहाँ भन्नुहुन्छ ।
कोशी गाउँपालिकाको तथा प्रधानमन्त्री कृषि आधुनिकीकरणले उक्त कागती खेतीका लागि कृषकलाई बिरुवा खरिद गर्न, घेरा बारा, विषादी तथा मोटरपम्पसमेत सहयोग गरेको छ । कोशी गाउँपालिका अध्यक्षसहितको टोलीले भारतको राजस्थान भ्रमण गरेर आएदेखि उनै अध्यक्ष ऐयुब अन्सारीले किसानलाई प्रोत्साहन गर्दे बालुवामा कागती खेती गरे गाउँपालिकाले सहयोग गर्ने बताउनु भएको थियो । उहाँकै विश्वासका कारण धेरै किसानले बालुवामा पैसाको सपना देख्न थालेका हुन् ।
सुख्खा मरूभूमिमा कागती खेती फस्टाएपछि गाउँपालिकाले ड्रागन खेती गर्ने समेत योजना रहेको कृषि शाखा प्रमुख सुनिलकुमार शाहले बताउनु भयो । उहाँले बालुवामा लगानी गरेर धेरै किसानले आर्थिक स्तर उकास्न थालेको उदाहरण दिँदै गर्छु म सक्छु भन्ने कृषकलाई गाउँपालिकाले समेत सहयोग गर्ने बताउनु भयो । दुई वर्षअघिसम्म अस्गर र साहबद्दिनले मात्र खेती गर्दै आएका थिए । दुई बिघाबाट सुरु भएको खेती अहिले सोही ठाउँका पाँच जना कृषकले २२ बिघामा लगाएका छन् ।













प्रतिक्रिया दिनुहोस्