जनता टाइम्स

७ माघ २०७८, शुक्रबार १४:३६

पानीमाथि वडा कार्यालय, सेवा प्रवाहसँगै यसरी लिन सकिन्छ बोटिङको आनन्द


रुपन्देही, माघ ७ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पानीमाथि वडा कार्यालय भवन निर्माण गरेको छ । पानीमाथि निर्माण गरिएको यो मुलुककै एकमात्र सरकारी कार्यालय रहेको नगरपालिकाको दावी छ ।

तिलोत्तमा नगरपालिकाले(११ को कार्यालय भवन पानीमाथि निर्माण गरेको हो । कार्यालयको वरिपरी पोखरी व्यवस्थित गरिएको छ । त्यहाँ माछा छोडिएको छ भने बोटिङ सेवा सञ्चालन गर्नुका साथै रात्रिकालीन समयमा समेत आकर्षक बत्तीहरूले मनमोहक बनाइएको छ ।

वडा कार्यालयको एक समारोहका बीच नगरप्रमुख वासुदेव घिमिरे र उपप्रमुख जगेश्वरदेवी आचार्यले उद्घाटन गर्नुभयो । वडा नम्बर ११ स्थित मद्रहानीमा रहेको ऐतिहासिक पोखरी स्थलमा पर्यटकीय वडा कार्यालय भवन निर्माण गरिएको हो । करिब ६० लाखको लागतमा वडा कार्यालय भवन निर्माण भएको हो । आयाम निर्माण सेवा तिलोत्तमासँग ६३ लाखको ठेक्का समझौता भएकोमा ६० लाखमा निर्माण सम्पन्न भएको तिलोत्तमा नगरपालिकाका इन्जिनियर प्रदिप वनले जानकारी दिनुभयो ।

यसले सेवा प्रवाह मात्र नभै आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत सघाउ पुग्ने नगर प्रमुख वासुदेव घिमिरेले बताउनु भयो । ‘अब वडा कार्यालयमा आउने सेवाग्राहीहरू सेवा लिनका लागि मात्र आउँदैनन्, बोटिङको आनन्द लिनका लागि पनि आउँछन,’ प्रमुख घिमिरेले भन्नुभयो ।

वडा नम्बर ११ का अध्यक्ष मुक्तिनारायण चौधरीका अनुसार स्थानीय नागरिकहरुको सुझावको आधारमा नगर कार्यपालिकाबाट निर्णय गराएर पोखरीमाथि वडा कार्यालय भवन निर्माण गरिएको हो । ‘कार्यालयमा आउने सेवाग्राहरूबाट आन्तरिक पर्यटनको पनि प्रवर्द्धन होस् भन्ने हेतुले पोखरीमा माछासमेत छाडिएको र बोटिङ समेत सञ्चालन गरिएको हो, यसले आम्दानी वृद्धमा पनि सघाउ पुर्याउँछ,’ चौधरीले भन्नुभयो ।