जनता टाइम्स

९ माघ २०७८, आईतवार १८:१५

मुलुकमा ब्यापार घाटा चुलिँदै : छ महिनामा १० खर्बको आयात हुँदा एक खर्ब १८ अर्बको मात्रै निर्यात


काठमाडौं, माघ ९ । चालु आर्थिक वर्षको पहिलो छ महिनामा नौ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँ बराबरको वस्तु आयात हुँदा नेपालले एक खर्ब १८ अर्ब ८५ करोड रुपैयाँको मात्रै निर्यात गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा छ खर्ब ६१ अर्ब २४ करोडको आयात हुँदा नेपालले ६० अर्ब ७९ करोडको निर्यात गरेको थियो । आयात धेरै बढेको हुँदा व्यापार घाटा चुलिँदै गएको छ ।

सरकारी तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो छ महिनामा व्यापार घाटा ४६ दशमलव ६४ प्रतिशतले बढेर आठ खर्ब ८० अर्ब ४९ करोड १७ लाख पुगेको छ । गत वर्षको सोही अवधिमा छ खर्ब ४४ करोड ६१ लाखको व्यापार घाटा भएको थियो । यसैगरी चालु आर्थिक वर्षको पहिलो छ महिनामा मुलुकको वैदेशिक व्यापार ११ खर्ब १८ अर्ब १९ करोड ३६ लाखको भएको छ । गत वर्षको सोही अवधिमा मुलुकको वैदेशिक व्यापार सात खर्ब २२ अर्ब ४५ करोडको भएको थियो । यो गत वर्षको सोही अवधिको तुलनामा ५४ दशमलव ८६ प्रतिशतले बढी हो ।

भन्सार बिभागको तथ्यांकअनुसार चालु आवको पहिलो छ महिनामा नेपालमा १४१ देशबाट नौ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख मूल्य बारबरका विदेशी वस्तुको आयात भएको छ । सो अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ । भारतबाट सो अवधिमा छ खर्ब तीन अर्ब ५४ करोड ५१ लाखको आयात भएको बिभागको तथ्यांक छ । भारतपछि चीनबाट ठूलो मात्रामा आयात भएको छ ।

चालु आर्थिक वर्षको पहिलो छ महिनामा चीनबाट एक खर्ब ४५ अर्ब ९१ करोड ३६ लाख मूल्य बराबरका वस्तु आयात भएको छ । यसैगरी नेपालले चालु आर्थिक वर्षको पहिलो छ महिनामा भारततर्फ ९६ अर्ब ५६ करोड तथा चीनतर्फ ४५ करोड ६२ लाख ४७ हजार मूल्य बराबरका वस्तु निर्यात गरेको छ ।