जनता टाइम्स

१८ असार २०७६, बुधबार १४:४८

बदलिएको पाकिस्तान : इस्लामिक गणतन्त्रमा यसरी संरक्षित छन हिन्दु–बौद्ध धर्मका पूरातात्विक सम्पदा


गणेश बस्नेत/राजन पौडेल

असार पहिलो साताको राजधानी इस्लामाबाद पुग्दा बिगत भन्दा बिल्कुलै फरक दृष्य देखियो । हरेक नागरिकको सोचदेखि छिमेकीसँगको सम्बन्ध अनि धर्ममा देखिदै आएको कट्टरतामा समेत फरक दृष्य देखियो । यसपटक छिमेकी मित्रराष्ट्र भारतको सिक्किम सरकारले अघि बढाएको धार्मिक पर्यटनकै मोडलमा पाकिस्तान सरकारले पनि धार्मिक पर्यटनलाई निकै बढावा दिएको बिभिन्न दृष्यहरु हेर्न पाइयो । जुन दृष्यहरुले यसअघिको पाकिस्तानलाई हेर्ने नजर भन्दा बिल्कुलै फरक अनुभुति पनि गरायो । पूर्व क्रिकेटर इमरान खानले पाकिस्तानको सत्ता सम्हालेसँगै नयाँ पाकिस्तानको नारा गुञ्जिएको छ यतिबेला । नरा मात्रै होइन, शासक र जनताको ब्यवहार पनि फेरिएको छ ।

इस्लामिक गणतन्त्र पाकिस्तान । नेपालको मित्रराष्ट्र । पाकिस्तानसँग नेपालको सधैंभर मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको छ । भारतीय उपमहाद्वीपमा कुनै समय एउटै विशाल मुलुक रहेपनि वर्तमानको पाकिस्तान र भारतबीच भने शत्रुतापूर्ण सम्बन्ध रहिआएको छ । तर, धर्मका आधारमा देश विभाजन भए पनि धार्मिक भाइचाराको सम्बन्ध भने भारत र पाकिस्तानबीच कतै न कतै रहँदै आएको देखिन्छ । यसको एउटै कारण हो, इस्लामिक गणतन्त्र पाकिस्तानमा रहेका हिन्दु, बौद्ध र शीख धर्ममा आधारित धार्मिक सम्पदाहरू । कतिपय सम्पदाहरू विभाजनपछि लामो समयसम्म संरक्षणविहीन बनेपनि अहिले भने पाकिस्तान सरकारले सबै पुरातात्विक सम्पदाहरूलाई संरक्षण गरेर राखेको छ । अनि त्यही सम्पदाकै माध्यमबाट धार्मिक पर्यटनलाई बढाउन चाहेको प्रष्ट देखिन्छ ।

पाकिस्तानको रावलपिण्डीमा रहेको तक्षशिलाको साइनो गौतम बुद्धको जन्मस्थल नेपालको लुम्बिनीसँग रहेको छ । इस्लामावाद–लाहोर राजमार्ग आसपासमा रहेको कटासराज क्षेत्र हिन्दु धर्मावलम्वीका लागि अमृत धरोहर हुन । कटासराजमा पुग्दा देखिएको दृष्यहरुले जोकोहीलाई आकर्षित् गर्छ । त्यसैको कारण होला, धार्मिक भाइचारासम्बन्ध सुधारकै लागि करतारपुर कोरिडोर खुला गरेको छ पाकिस्तानले । भारतबाट झण्डै आधा महिना लगाएर कटासराज पुगेका हिन्द्यु धर्मावलम्बीहरुको कुरा सुन्दा त यी सम्पदाले दुई देशबीचको नागरिक सम्बन्धलाई मजबुत बनाउँदै लगेको छ । भारतीय तिर्थयात्रीहरू पाकिस्तानका धार्मिक सम्पदास्थलमा पुग्छन् । दुई मुलुकबीच राजनीतिक स्तरमा सम्बन्ध सुधार हुने हो भने, यी सम्पदाहरूको अझ बढी प्रचारप्रसार हुने देखिन्छ ।

भारत पाकिस्तान सम्बन्ध सुधारको बाछिटा नेपालमा अवश्य पर्छ नै । दुई देशबीच मैत्रिपूर्ण सम्बन्ध रहे पनि कनेक्टिभिटीका कारण निकै टाढा छन् नेपाल–पाकिस्तान । सीधा हवाई यात्रामा दुई घण्टामा पुगिने इस्लामावाद यतिबेला कम्तिमा १८ घण्टा टाढा रहेको छ नेपालीका लागि । भारतर पाकिस्तानले आफ्नो आकाश बन्द गरेपछि दुई घण्टाको दुरीमा तय हुने यात्रा यति धेरै समय खर्चनु परेको छ । तर सिन्धु नदी आसपासदेखि ब्रम्ह्पुत्र आसपाससम्म फैलिएको सभ्यताको विकासले नेपाल भारत पाकिस्तान जस्ता मुलुकको जनस्तरको सम्बन्धलाई राजनीतिक सम्बन्धले अलग गर्न नसक्ने देखिन्छ । पाकिस्तानमा संरक्षण गरेर राखिएका दुई पुरातात्विक स्थल कटासराज र तक्षशिलाको सम्बन्ध नेपालसँग सिधै जोडिएको छ ।

कटासराज : पौराणिक मान्यता

पाकिस्तानका केही हिन्दु धार्मिकस्थलहरूमध्ये एक हो कटासराज । इस्लामावाद–लाहोर राजमार्गमा पर्ने साल्ट रेन्जका प्रसिद्ध पहाडी छेडोमा रहेको कटासराज चकवाल शहरबाट ३० किलोमिटरको दुरीमा रहेको छ । महाभारत युद्धदेखि रामायणसम्मका पौरुानिक कथालाई यस स्थल पुग्दा आफै पात्र बने जस्तो महसुस हुन्छ ।

कटासराज हिन्दु धर्मावलम्बीका लागि पवित्र धाम हो । कटासराज क्षेत्रबारे शिव पुराणमा उल्लेख गरिएको छ भने महाभारत कथामा कटासराजको व्याख्या गरिएको छ । कटासराज शब्दको उत्पत्ति संस्कृतको कटाक्षबाट भएको हो । जसको अर्थ हुन्छ, अश्रुधारा । शिव पुराण अनुसार परमप्रिय सती देवीको अग्नी समाधिपछि शिव भावविह्ल हुँदा अश्रुधारा बगेको थियो । शिवको एउटा आँखाबाट बहेको अश्रुधाराबाट कटासराजमा कुण्ड बन्यो । अर्को आँखाबाट बहेको आँशुबाट अजमेरमा कुण्ड बनेको थियो । यो कुण्डलाई आजपर्यन्त हिन्दु समाजले अमृत कुण्डको रुपमा श्रद्धा गर्दछन् ।

यस्तै, कटासराजको कथा महाभारतकालमा पनि जोडिन्छ । कौरवहरूले हस्तिनापुरको राज्य हरण गरेपछि पाण्डवहरूले चारवर्ष यही स्थानमा बसेका थिए भन्ने जनविश्वास रहेको छ । कौरवले राज्इहरण गरेपछि बनबास गएको पाण्डवहरु घुम्दै जाँदा बाटोमा तिर्खा लाग्यो । तिर्खा लागेपछि पानी लिन कुण्डमा जाँदा ऋषि यक्षले सोधेका प्रश्नको उत्तर दिन नसकेर सहदेव, भीम, अर्जुन र नकुल पालैपालो मुर्छित भए । पानी लिन गएका सबैभाईहरू एकपछि अर्को गरी गायव भएपछि आफै पानी लिन धर्मराज युधिष्ठिर पुगे । तर, यक्षले युधिष्ठिरलाई पनि चारै भाईलाई सोधेका प्रश्नको जवाफ मागे । जवाफ दिन नसके भाइहरू जस्तै बनाइदिने चेतावनीपछि युधिष्ठिरले यक्षका एक–एक प्रश्नको उत्तर दिए ।

हामी आज पनि यक्षले सोधेको प्रश्नलाई यक्षप्रश्न भन्ने गर्छाैं । महाराज युधिष्ठिरले ऋषि यक्षले सोधेका सबै प्रश्नको सरल उत्तर दिएर महान पदवीको ग्रहण समेत गरे । यक्षले सोधेका प्रश्नको उत्तर दिन नसकेर अचेत अवस्थामा पुगेका चारै भाइलाई यही अमर कुण्डको पवित्र जल खुवाएर युधिष्ठिरले पुनर्जिवित गरेका थिए । यसर्थ, हिन्दु धर्मावलम्बीहरूका लागि यो स्थल आजपर्यन्त पवित्र छ । सम्मानयोग्य छ ।

जताततै हिन्दु मन्दिरै मन्दिर

यस क्षेत्रमा मन्दिरै मन्दिर छन् । सतघरा मन्दिर समुहमा रहेका सातवटा मन्दिरमध्ये अहिले चारवटा मन्दिरमात्र अस्तित्वमा छन् । हनुमान मन्दिर, रामसिता मरिन्दर, शिव मन्दिरको पुनर्निर्माण भैसकेको छ । बाँकी मन्दिरको पनि उत्खनन र पुनर्निर्माणको काम गर्दैछ पाकिस्तान सरकार । प्राचिन शिव मन्दिरमा आज पनि पुजा आरधना हुन्छ । हिन्दु पुजारीले दैनिक नित्य पूजा आजा गर्नेगर्छन । कटासराजको दर्शनका लागि भारतबाट समेत हिन्दुधर्मावलम्बीहरू ठुलो संख्यामा आउने गरेका छन् । पाकिस्तानकै हिन्दु समुदाय पनि यहाँ आउने गर्छन् । विशेषगरी शिवरात्रीका दिन यस क्षेत्रमा ठूलो मेला लाग्ने गर्छ । मेलाको प्रवद्र्धन स्थानीय समितिले गर्छ ।

कटासराज मन्दिर संगीत, कला र विद्याको ठूलो केन्द्र रहेको थियो । आफ्नो उत्कर्ष कालमा मन्दिरमा लगभग १० हजार विद्वान र कलाकार सम्बद्ध थिए । तर ११ औं शताब्दीमा महमुद गजनवीले आक्रमण गरेपछि मन्दिरको वैभव नष्ट भयो । कटासराज मन्दिरमा एक विश्वविद्यालय पनि थियो । जहां दर्शनशास्त्र र बौद्ध अध्ययनको ठूलो केन्द्र थियो । नाथ सम्प्रदायका संस्थापक गोरखनाथ एवं चिनिया प्रसिद्ध यात्री ह्वान साङ समेत यो विश्वविद्यालयमा पुगेका थिए । तर, विदेशी आक्रमणकारीले तक्षशिलाको पतन गराए, नजिकै रहेका कारण कटासराजमा सबै विद्धानहरू तक्षसिलाबाट पलायन भएर कटासराजमा आएका थिए । यो क्षेत्रभरि नै विश्वविद्यालय भएको कतिपय इतिहासकारहरू मान्ने गर्छन ।

भाइचारा सेतु कटासराज

कटासराज क्षेत्र हिन्दु र मुस्लिम र बौद्ध समुदायको भाइचारा सम्बन्धको सेतु स्थल पनि हो । विदेशी आक्रमणकारीले समाप्त पारेको वैभवलाई कटासराज क्षेत्र आसपास बस्ने हिन्दु समुदायले पुनः सम्हालेर राखेका थिए । अहिले पनि मुस्लिम समुदायले अल्पसंख्यक हिन्दु समुदायको यो पवित्र मन्दिर संरक्षणका लागि भाइचारा सम्बन्ध स्थापित गरेका छन् । भारत र पाकिस्तानबीच विभाजन अघि यस ठाउंमा हिन्दु समुदायको ठूलो बसोबास रहेको थियो । कटासराज हिन्दु समुदायको आस्थाको केन्द्र रहेको थियो । विभाजनपछि हिन्दु समुदाय यहाँबाट विस्थापित भए । विभाजनको मार यस क्षेत्रमा पर्यो । हिन्दु समुदाय विस्थापित भएपछि यहाँको वैभव पनि नासिंदै गएको बताउनु हुन्छ कटासराजका केयरटेकर एवं पन्जाव विश्वविद्यालयमा हिन्दी र पन्जावी गुर्मुखीका लेक्चरर अजहर अब्बास ।

भारतका तत्कालिन प्रधानमन्त्री अटल विहारी बाजपेयीले पाकिस्तानको भ्रमण गर्दा यो ठाउँमा पुग्नुभएको थियो । खण्डहर मात्र देख्दा वाजपेयी दुखित बन्नुभयो । पछि पाकिस्तान सरकारले यो ऐतिहासिक धार्मिकस्थललाई संरक्षण गर्न सुरु गर्यो । अहिले कटासराज क्षेत्रमा पर्खाल लगाउने, पुराना ऐतिहासिक सम्पदाको जिर्णोद्वार गर्ने काम दु्रत गतिमा भइरहेको छ । पाकिस्तान सरकारले कटासराजलाई विश्व सम्पदा सूचीमा दर्ताका लागि निवेदनसमेत दिएको छ । पाकिस्तान र भारतबीच रहेको तिक्ततापूर्ण सम्बन्धका बीच पनि कटासराज दुई मुलुकका जनताबीच रहेको धार्मिक एकताको सेतु बनिरहेको छ, बनिरहने निश्चित देखिन्छ । मन्दिर र आसपासको क्षेत्रको जिर्णोद्वार जति छिटो हुन्छ, त्यति नै आतुर हजारौं हिन्दु तिर्थयात्री कटासराज आउनका लागि लालायित हुनेछन् । यसका लागि पाकिस्तानले कटासराजको धार्मिक महत्वको अन्तराष्ट्रिय स्तरमै प्रचार प्रसार अघि बढाउने योजनासमेत पंक्तिकारहरुलाई बताएको छ ।

तक्षशिला–लुम्बिनी सम्बन्ध

शान्तिका अग्रदूत गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा भयो । बुद्धले भारतमा बुद्धत्व प्राप्त गर्नुभयोे र संसारभर शान्ति एवं अहिंसाको प्रचार गर्नुभयो । बुद्धको प्रचार सर्वव्यापी फैलियो । बुद्धका अनुयायीहरू संसारभर बढे । भारतीय उपमहाद्विपमा बुद्धको महिमा यसरी फैलियो कि, भारतमा आक्रमण गर्न आएका युनानी, पर्सियनहरूले समेत बुद्धलाई भुल्न सकेनन् । बुद्ध धर्मको महिमालाई इस्लाम धर्मावलम्बीहरूले समेत सम्मान गरे । हिन्दु धर्मले बुद्धलाई सधैं नजिकको मानिरह्यो ।

भारत पाक विभाजनपछि हाल पाकिस्तानको राजधानी इस्लामावाद नजिकै रहेको रावलपिण्डी शहरमा तक्षशिला पर्दछ । र, यो ठाऊँ बुद्ध दर्शन समृद्ध भएको स्थानका रुपमा परिचित छ । प्राचीन समयमा यही ठाऊँ बुद्ध धर्मको उन्नयन भएको थियो । पाकिस्तानको पन्जाव प्रान्तमा पर्ने रावलपिण्डीस्थित तक्षशिलामा भारतका चक्रवर्ती सम्राट अशोक र बुद्ध तथा उनीहरूसँग सम्वन्धित ऐतिहासिक पुरातात्विक महत्वका वस्तुहरू संरक्षण गरेर राखिएको छ । पाकिस्तानीहरू तक्षशिलालाई टक्सिला भन्छन् । यहाँ बुद्ध दर्शनसँग जोडिएका सामाग्रीहरू छन् । कुनै समयको समुन्नत सभ्यता बोकेको तक्षशिला संसारभरका कैयौं साम्राज्यको आँखा लाग्दा ध्वस्त भयो ।

पर्सियन र युनानीले तक्षशिलामाथि बारम्बार नियन्त्रण गरे । भारतकै उज्ज्यैनीहरूले समेत तक्षशिलाको नियन्त्रणको प्रयास गरे । भारतीय उपमहाद्वीपमा वर्चस्व जमाएको तत्कालिन मगध शासकको मौर्य साम्राज्य विस्तार तक्षशिलासम्म पुग्यो । तर, रोचक पक्ष के छ भने तक्षशिलामा जति पनि शासकहरूले शासन गरे, उनीहरूले बुद्धसँग जोडिएका कलाकृति, धर्मसंस्कृति र परम्परालाई मास्न सकेनन् । त्यसभन्दा अघि बढेर आ–आफ्नै सभ्यताअनुसार बुद्ध दर्शनलाई स्वीकार गर्न बाध्य भए । पर्सियन र युनानी र मौर्य साम्राज्यले बनाएका बुद्ध दर्शन सम्वद्ध वस्तु एवं मुर्तिहरू उनीहरूकै सभ्यता अनुरुपका पाइएका छन् ।

तत्कालीन भारतीय उपमहाद्धिपको पिप्लीवनका राजकुमार चन्द्र गुप्त मौर्यले प्राचीन रणनीतिकार विष्णुगुप्त चाणक्यको निर्देशनमा विशाल मौर्य साम्राज्य कायम गरेका थिए । यसलाई अखण्ड भारतको सुरुवाती काल मानिन्छ । त्यतिबेला रहेको अशोक र बुद्ध सम्वन्धी सामग्री हाल तक्षशिला संग्राहलय (म्युजिएम) मा रहेको छ । तर, आचार्य चाणक्यको गुरुकुलको भने कुनै निशानी छैन ।

समुन्नत तक्षशिला

तक्षशिला मानव विकास सुचकांकमा संसारभरकै उन्नत स्थलमध्ये एक मानिन्थ्यो । तक्षशिलामा रहेका विश्वविद्यालयमा अध्ययन गर्नका लागि संसारभरबाट विद्यार्थीहरू पुग्थे । तक्षशिला नगर विद्या र शिक्षाको महान केन्द्रको रुपमा प्रसिद्ध थियो । वैदिक कालको अन्तिम शताब्दीपूर्व यसको ख्याति त्यति धेरै थिएन । तर बौद्ध युगमा यो क्षेत्र विद्याको सर्वमान्य स्थान बन्यो । बनारस, राजगृह, मिथिला एवं उज्ज्येन जस्ता स्थानबाट विद्यार्थीहरू पढ्न आउंथे । विश्वप्रसिद्ध गुरुहरूबाट अध्यययन गर्न पाउंदा विद्यार्थीहरू पुलकित हुन्थे ।

तक्षशिला राजनीति र शस्त्रविद्याको शिक्षाको केन्द्र थियो । यहाँको शस्त्रविद्यालयमा विभिन्न राज्यका राजकुमारहरू राजनीतिक ज्ञान र शस्त्रविद्या सिक्थे । यहाँका विश्वविद्यालयहरूमा आयुर्वेद र कानुनको पनि विशिष्ठ अध्यापन गराइन्थ्यो । विश्वविद्यालयको पाठयक्रममा आयुर्वेद, धनुर्वेद, हस्तिविद्या, व्याकरण, दर्शनशास्त्र, गणित, ज्योतिष, गणना, वाणिज्य, सर्प्विद्या, तन्त्रशास्त्र, संगीत, नृत्य एवं चित्रकला आदिको मुख्य स्थान थियो । गौतम बुद्धका समकालीन केही प्रसिद्ध व्यक्तिहरू तक्षशिला विश्वविद्यालयका विद्यार्थी रहेको इतिहासकारहरूले दाबी गर्दै आएका छन ।

विष्णु गुप्त आचार्य चाणक्यले तक्षशिला विश्वविद्यालयमा स्नातकसम्म अध्ययन गरे । सम्राट चन्द्रगुप्त मौर्यलाई चारक्यले अध्यापन गराए सोही विश्वविद्यालयमा । पछि, चाणक्य र चन्द्रगुप्त मिलेर विशाल मौर्य साम्राज्यको सुरुवात गरे । सम्राट अशोकको वाल्यकालसम्म चाणक्य मौर्य शासनका मुख्य राजनीतिक सल्लाहकारका रुपमा रहेका थिए । दरबारभित्रको षड्यन्त्रमा चाणक्यको बनबास गए । उहीं नै उनले देह त्याग गरे । २३ सय वर्ष पुरानो र सबैभन्दा प्राचीन माणिक राजनीति शास्त्र नै चाणक्य लिखित चाणक्यको अर्थशास्त्र हो । आजपर्यन्त राजनीतिशास्त्रमा चाणक्य नीति उत्तिकै महत्वपूर्ण मानिन्छ ।

तक्षशिला आज

इस्लामिक गणतन्त्र पाकिस्तानले तक्षशिलाको संरक्षण गरी यस क्षेत्रलाई मुख्य पर्यटकीय गन्तव्यको रुपमा विकास गरेको छ । प्राचिन तक्षशिलाको खण्डहरको खोजी गर्ने काम बृटिश जनरल कनिङ्घमले सुरु गरेका थिए । तर ठोस काम भने सन् १९२१ पछि हुन थालेको थियो । सर जनरल मार्शलको नेतृत्वमा भएको उत्खनन कार्य पाकिस्तानले आज पनि जारी राखेको छ । तक्षशिक्षाका कैयौं स्थानको अवशेष निकालिएको छ । भिन्न भिन्न युगमा तक्षशिला नगरमा विदेशी आक्रमणबाट ध्वस्त भएका वस्ती र सभ्यताको खोजी गर्ने क्रममा फेला परेका पुरातात्विक वस्तुहरूलाई तक्षशिला संग्राहलयमा संरक्षित गरेर राखिएको छ । चीनको ग्लोबल टेलिभिजन नेटवर्क सीजीटीएनले तक्षसीलाबारे वृत्तचित्र बनाएको छ ।

राष्ट्रसंघीय आयोग युनेस्कोले तक्षशिलालाई सन १९८० मा विश्व सम्पदा सुचीमा सुचिकृत गरेको थियो । सन् २०१० मा तक्षशिलालाई विश्वका त्यस्ता प्राचिनतम् शहरको सुचीमा सुचिकृत गरियो, जुन शहरहरूमा शासकहरूले नृशंश आक्रमण गरेर सभ्यताकै नाश गरिदिए ।

तक्षशिलाको सम्बन्ध नेपालसँग पनि जोडिएको छ । लुम्बिनी र तक्षशिलाको सम्बन्ध रहेको छ । यसैले अनुसन्धानकर्ताहरूले यी दुई महत्वपूर्ण पुरातात्विक स्थलको सम्बन्धको खोजी गर्न थालेका छन् । काठमाडौंस्थित पाकिस्तानी दूताबासले सेन्टर फर एडभान्स स्टडिज इन साउथ एशियासंगको सहकार्यमा लुम्बिनी र तक्षशिलासम्बन्धबारे हालै काठमाडौंमा सेमिनार गरेको छ । नेपालका लागि पाकिस्तानी राजदूत मजहर जावेदले दुई ऐतिहासिक स्थलको सम्बन्धमा थप खोजी हुनुपर्ने बताएका छन् । नेपाली अनुसन्धानकर्ता प्रा.डा. अरुण गुप्ता र प्रा.डा. संगीता रायमाझीले पुरातात्विक महत्वको लुम्बिनी र तक्षशिलाबीच गहिरो ऐतिहासिक सम्बन्ध भएको बताएका छन् ।

नेपालको लुम्बिनीको चर्चा सवत्र्र फैलिएको छ । लुम्बिनीबारे विगतमा फैलाइएको भ्रमपूर्ण प्रचार समाप्त भएका छन् । यद्यपी अझै पनि विश्व समुदायलाई लुम्बिनीबारे नेपालले सही ढंगले मार्केटिङ गर्न सकेको छैन । यसैगरी, तक्षशिलालाई पाकिस्तानले भरपुर मार्केटिङ गर्न सकेको छैन । इस्लामिक गणतन्त्रभित्र संरक्षित गरेर राखिएको बौद्ध र हिन्दु दर्शनसम्वद्ध यो ऐतिहासिक स्थलको संरक्षण, थप उत्खनन थप अध्ययन अनुसन्धान र प्रचार अझ बढी आवश्यक छ । पाकिस्तानको राजनीतिमा उदाएका इमरान खानले अघि बढाएको नयाँ पाकिस्तान भन्ने नाराभित्र यो काम संभव हुनसक्छ । त्यसैले नयाँ पाकिस्तानभित्र अव धार्मिक बिद्धेस होइन, धार्मिक सदभाव र धार्मिक पर्यटनमार्फत समृद्धिको यात्रा तय गर्न सक्ने संभावना देखिएको छ ।