जनता टाइम्स

१९ माघ २०७८, बुधबार ०८:३७

गठबन्धन तोडिए पनि एमसीसी अघि बढाउने प्रधानमन्त्रीको अडान, यस्तो छ प्रचण्ड-माधवलाई चेतावनी


काठमाडौं, माघ १९ । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसीका विषयमा भएको अन्योलले देशलाई घाटा हुने भन्दै संसदबाट अविलम्ब पारित गराउन प्रतिबद्ध देखिनु भएको छ । सत्ता साझेदार दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सहमतिबिना सम्झौता अघि बढे गठबन्धनबाट बाहिरिन सक्ने चेतावनी दिएपनि प्रधानमन्त्री देउवा गठबन्धन टुटे पनि एमसीसी अघि बढाउन प्रतिवद्ध देखिनुभएको हो ।

नेपालको हित कसरी हुन्छ भन्नेमा आफू पनि सचेत रहेको तर सहयात्री दलका नेताहरूले नबुझेको भन्दै प्रधानमन्त्री देउवा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँग असन्तुष्टसमेत बन्नुभएको छ । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री देउवाले गठबन्धनका नेताहरुलाई ‘एमसीसी स्वीकार गरे कति आर्थिक सहायता आउँछ भन्ने एउटा कुरा हो, तर सम्झौता अनुमोदन नभए अमेरिका र चीनको भूराजनीतिक चेपुवामा नेपाल पर्छ, देशलाई यो झमेलाबाट जोगाउन सम्झौता पास गर्नुपर्छ, तपाईंहरूले साथ दिनोस् भनेर प्रधानमन्त्रीले पटक–पटक भन्नुभएको छ । अमेरिकी अनुदान फिर्ता भए त्यसको असर विकास साझेदार संस्था तथा राष्ट्रहरूको सहयोगमा पर्छ भन्नेमा प्रधानमन्त्री देउवा रहनुभएको कांग्रेस नेताहरुले सार्वजनिक रुपमै बताइसक्नु भएको छ ।

सम्झौता पारित गराउन अवरोध भए सत्ता गठबन्धन तोड्न आफू बाध्य हुने जनाउ प्रधानमन्त्रीले सहयात्री दलहरूलाई दिइसक्नु भएको छ । एमसीसी बिवाद बढेपछि मंगलबार कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की छुट्टाछुट्टै माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गर्नुभएको छ । खुमलटार पुगेर छलफल गर्दा पनि सकारात्मक जवाफ नपाएपछि प्रधानमन्त्री देउवा झनै चिढिनु भएको छ ।

सञ्चारमन्त्री नेता ज्ञानेन्द्रबहादुर कार्कीले भने आशंकाका विषयमा एमसीसीले यसअघि नै प्रस्ट पारिसकेका कारण अब अनुमोदन गर्न कुनै समस्या नरहेको बताउनु हुन्छ । ‘यो आर्थिक सहायता अस्वीकार भएमा अन्तर्राष्ट्रिय रूपमा नेपालको विश्वसनीयता पनि संकटमा पर्छ, सम्झौता गर्दा पनि पर्याप्त छलफल भएको हो, केही विषय एमसीसीले पछि पनि स्पष्ट पारेको छ, अब अलमल गर्नु हुन्न,’ कार्कीको भनाई छ ।