जनता टाइम्स

२३ माघ २०७८, आईतवार १२:५४

प्रधानमन्त्रीले मागे ओलीसँग बार्ताको समय, यस्तो छ एमसीसीमा एमाले फसाउने सत्तारुढ गठबन्धनको रणनीति


काठमाडौं, माघ २३ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्नु हुने भएको छ । अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) संसदबाट अनुमोदन गर्ने प्रतिवद्धतासहितको पत्र बाहिरिएलगत्तै प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीसँग छलफल गर्न लाग्नुभएको हो ।

प्रधानमन्त्री देउवा र सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीको मुख्यालयलाई एमसीसी अनुमोदन गर्ने कबुलियतनामा आज मात्रै सार्वजनिक भएको थियो । एमसीसी राष्ट्रघाती रहेको सार्वजनिक घोषणा गर्दै आउनु भएका माओवाद अध्यक्ष प्रचण्डले कमा र फुलिस्पटसमेत परिवर्तन नगरी एमसीसी पास गर्ने पत्रमा हस्ताक्षर गरेर पठाउनु भएको पत्र बाहिर आएपछि अव एमालेलाई समेत फसाउने योजनासहित प्रधानमन्त्री देउवाले ओलीसँग छलफल गर्न चाहनु भएको बताइएको छ ।

एमाले अध्यक्ष ओलीका सचिवालयमा रहनुभएका प्रेस चौतारी नेपालका नेता रामशरण बजगाईंले आज प्रधानमन्त्री र अध्यक्षबीच छलफलको मिति तय भएको जानकारी दिनुभयो । उहाँले अध्यक्ष ओलीले प्रधानमन्त्रीबाहेक अन्य दलका नेतासँग भने छलफल नगर्ने प्रष्ट पार्नुभयो । केही दिनअघि मात्रै माओवादी अध्यक्ष प्रचण्डले तात्कालिन प्रधानमन्त्री केपी ओली नै एमसीसी पारित गर्न बाधक रहेको आफू र सभामुख अग्नि सापकोटा बाधक नरहेको बताउनु भएको थियो ।

नेकपा (एमाले) ले प्रतिनिधिसभामा बिचाराधिण आफ्नो मुद्धाको सम्बोधन नभएसम्म कुनै पनि बिषयमा प्रवेश नगर्ने र सत्तारुढ गठबन्धनले अघि सारेको प्रस्तावलाई समर्थन नगर्ने बटमलाइन सुनाइसकेको छ । एमाले महासचिव शंकर पोखरेलले यस बिषयमा खुला खुलस्त धारणा राख्दै एमालेले एमसीसीको बिषयमा पनि समर्थन नगर्ने बताउनु भएको हो ।