१९ असार २०७६, बिहीबार ००:००

खडेरीले धान रोपाइँ प्रभावित


पूर्णप्रसाद न्यौपाने/ओखलढुंगा

आकासेपानीमा निर्भर यहाँको खेतीमा योपल्टको लामो खडेरीको असर परेको छ । खडेरीले धान उत्पादन घट्ने भएको छ । अधिकांश ग्रामीण भेगका खेतमा सिँचाइ नहुँदा यहाँका किसान खडेरीको मारमा परेका हुन् । आधा असार सकिँदा पनि जिल्लामा रोपाइँको काम अझै शुरु भएको छैन । विगतका वर्षमा मध्य असारमा रोपाइँको काम अन्तिम चरणमा पुग्ने गरेको थियो । लामो खडेरीले समयमै धान रोप्न नपाउँदा यसको उत्पादनमै समस्या हुने किसानको चिन्ता छ ।

खडेरीको समस्या र सिँचाइ अभावका कारण रोपाइँको काम गर्न नसकेको पोकलीका किसान राम घिमिरेले बताउनुभयो । “खडेरीले चौपट पा¥यो, पोहोरतिर यतिबेला रोपाइँको काम आधाभन्दा बढी सकिन्थ्यो, यो पटक शुरु नै भएन”, घिमिरेले भन्नुभयो, “झनझन हिउँद जस्तो घाम चर्केर खेतबारी सुक्यो, अब त पानी परे पनि रोप्ने बीउ छैन, सुकेर कामै नलाग्ने भयो ।” सिँचाइको उपयुक्त व्यवस्था भएको जिल्लाको खिजीदेम्बा गाउँपालिका र केही अन्य खोला किनार नजिकका खेतमा मात्रै रोपाइँको काम भएको छ ।

ओखलढुङ्गाको चार हजार ५०० हेक्टर जमीनमा धानखेती हुने गरेको छ । कृषि ज्ञानकेन्द्र ओखलढुङ्गाका अनुसार तीमध्ये करीब २२० हेक्टर जमीनमा मात्रै रोपाइँ शुरु भएको छ । सुनकोशी, दूधकोशी र लिखु नदी आसपासमा पर्ने तल्लो भू–भाग जिल्लाको सुक्खाग्रस्त क्षेत्र हो । यो क्षेत्रमा खेतीबाली लगाउन खडेरीका कारण समस्या छ । लामो खडेरीका कारण बारीमा लगाएको मकै र धानको बीउ सुकेर नष्ट भएको चम्पादेवी गाउँपालिकाका उपाध्यक्ष निर्मला रैका मगरले बताउनुभयो ।

खडेरीको पीडा सुनाउन किसान गाउँपालिकामा आउने गरेको पनि उहाँले बताउनुभयो । “घुर्यानमा लगाएको तरकारीसमेत खडेरीले खायो, मान्छेले के खाने होला भन्दै सर्वसाधारण हामीसँग सोध्न आउँछन्”, उहाँले भन्नुभयो, “हाम्रो गाउँपालिका सुक्खाग्रस्त हो, खानेपानीकै सङ्कट छ । झन सिँचाइका लागि त अहिले केही गर्न सक्ने अवस्था नै छैन । जिल्लाका किसान आकाशे पानीको प्रतीक्षामा छन् ।”

सङ्घीय सरकारले चासो दिएन, प्रदेशले विभेद गर्यो

ओखलढुङ्गाका प्रदेशसभा सदस्य मोहन खड्काले जिल्लावासीको काकाकुल समस्या समाधान गर्न प्रदेश सरकारसँग माग गर्नुभएको छ । उहाँले १३ असारमा बसेको प्रदेशसभाको बैठकको शून्य समयमा जिल्लाको समस्या प्रदेश सरकारलाई अवगत गराउँदै भन्नुभयो, “खडेरीको मारमा ओखलढुङ्गाका किसान परेका छन, बालीनाली सबै जलेका छन् । पानी पिउनका लागि काकाकुलको अवस्था छ, सरकारले बेलैमा विशेष चासो देओस् ।”

“ओखलढुङ्गे नागरिक पानी पिउन नपाएर मर्न नपरोस्”, उहाँले प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । लामो खडेरीका कारण ओखलढुङ्गाको लिखु, दूधकोशी र सुनकोशी नदी करिडोरमा बसोबास गर्दै आएका करीब ५० हजार स्थानीयवासी प्रत्यक्ष मारमा परेको भन्दै प्रदेशसभा सदस्य खड्काले तत्काल खानेपानीको समस्या समाधान गर्न सरकारसँग माग गर्नुभएको हो । कम प्राथमिकताको योजना भन्दै सङ्घीय सरकारले खडेरीपीडितलाई खानेपानी दिलाउन कुनै चासो नदिएको उहाँको आरोप छ ।

सांसद यज्ञराज सुनारले पटकपटक पहल गरे पनि साना योजना भनेर सङ्घीय सरकार पन्छिँदै आएको उहाँको आरोप छ । यता प्रदेश सरकारले पनि ओखलढुङ्गालाई खडेरीग्रस्त जिल्लाका रुपमा नबुझेको गुनासो उहाँले गर्नुभयो । प्रदेशसभा अर्थ समितिका सभापतिसमेत रहनुभएका खड्काले प्रदेशका पूर्वी जिल्ला धनकुटा र पाँचथरलाई खडेरीग्रस्त भनेर विशेष कार्यक्रम सञ्चालन गरे पनि ओखलढुङ्गाको हकमा भने प्रदेश सरकारले चासो नदिएको उहाँको भनाइ छ ।

सरकारले चाहेमा खडेरीग्रस्त क्षेत्रमा खानेपानीको आपूर्ति गर्न सक्ने बताउँदै प्रदेशसभा सदस्य खड्काले भन्नुभयो, “छिमेकी जिल्ला रामेछापमा खडेरी पीडितले लिफिटिङ बोरिङबाट पानी पिउन थालिसकेका छन् भने सरकारले चाहेमा ओखलढुङ्गावासीलाई पनि पानी खुवाउन सकन्छ ।” जिल्लामा स्थानीय तहले खानेपानी योजनामा भन्दा पनि बाटो र बिजुली विस्तारमै चासो दिइरहेका छन् । खानेपानी योजना आफ्नो खर्चले नभ्याउने भएकाले प्रदेश वा सङ्घीय सरकारले नै हेर्नुपर्ने दाबी स्थानीय तहको छ ।

बढ्दो जलवायु परिवर्तन, पर्यावरण विनाश र विसं २०७२ मा गएको भूकम्पले गर्दा ओखलढुङ्गाका लिखु, सुनकोशी र दूधकोशी करिडोरमा बसोबास गर्ने बासिन्दाले खडेरीको मार खेप्न बाध्य भएका छन् । यहाँका मुख्य बाली मकैलगायत अन्य बाली पनि अघिल्लो वर्ष झैँ यो वर्ष पनि सुकेर मरिसकेका छन् । गत वर्ष पनि जिल्लाका किसानले खडेरीको मारले अन्न भित्र्याउन पाएका थिएनन् । रासस