जनता टाइम्स

२९ माघ २०७८, शनिबार ०९:३८

गुल्मी भूमि आयोगले अझै पाएन पूर्णता


गुल्मी, २९ माघ । गुल्मीमा एक महिनासम्म राष्ट्रिय भूमि आयोगले पूर्णता पाउन सकेको छैन । आयोगको अध्यक्षमा राममल्ल ठकुरी नियुक्त भएका एक महिना पुगे पनि सदस्यको टुंगो लागेको छैन । ठकुरी एकीकृत समाजवादीबाट अध्यक्ष भए । तर, अरु तीन सदस्य केन्द्रबाट मनोनित भएका छैनन् ।

बाँकी सदस्य अझै मनोनित नभएकाले पदेन सदस्यसहित आयोगका काम अगाडि थालिएको ठकुरीले बताउनुभयो । अहिलेसम्म समितिले पूर्णता पाएको छैन । अघिल्लो आयोगबाट सबै कागजपत्र र प्रमाण हस्तान्तरण नभएको उहाँले बताउनुभयो । ठकुरीले सदस्य मनोनित हुने बित्तिकै महत्वपूर्ण काम अगाडि बढाउने बताउनुभयो ।

उहाँले अहिलेसम्म राष्ट्रिय सभा निर्वाचनको आचारसंहिता, कोभिड र सदस्यको मनोनयनसँगै बजेटले केही अलमल देखिएको स्वीकार गर्नुभयो । आयोगले पुनःआवेदन खुला गर्ने जनाएको छ । गुल्मीमा ४ सय ३५ भूमिहीन दलित, तीन सय ९० जना सुकुम्बासी र एक हजार चार सय ४४ जना अव्यवस्थित बसोबासीको तथ्यांक संकलन भएको आयोगका सदस्यसचिव चुन्न प्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।