जनता टाइम्स

१९ असार २०७६, बिहीबार २०:२०

भारतलाई सरकारको जवाफ – नागरिकको स्वास्थ्यसँग खेलवाड गर्न सकिदैन


काठमाडौं, असार १९

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले नागरिकको स्वास्थ्यको ख्याल गर्न तरकारीको चेकजाच गरिरहेको बताउनु भएको छ । उहाले प्राविधिकरूपमा कुनै समस्या भए सरकारले तत्कालै त्यसलाई हल गर्दै लैजान उल्लेख गर्नुभयो ।

विषादियुक्त फलफुल तथा तरकारीको चेकजाँचमा कडाई गरेपछि भारतले त्यसमा चासो देखाएको थियो । ‘तरकारी तथा फलफूल चेकजाँच नियमित प्रक्रिया हो । यसमा अरू कुनै कारण छैन’, प्रवक्ता बाँस्कोटाले भन्नुभयो, ‘नागरिकको स्वास्थ्यको कुरा भएकाले चेकजाँच हुनु राम्रो हो । प्राविधिक समस्या परेको भए हल गर्छौं ।’ सरकारले भारतलाई पनि नेपालबाट जाने फलफुल तथा तरकारी चेकजाँच गर्न सक्ने जवाफ पनि दिएको छ । मन्त्री बास्कोटाले चीन र भारत जहाँबाट आएपनि विषादीरहित तरकारी आउनुपर्ने दोहो¥याउनु भयो । नागरिकको स्वास्थ्यका लागि यो चेकजाँच गर्नु कुरा राम्रो हो । यो त सबैले गर्दा राम्रो हुन्छ’, उहाले भन्नुभयो, त्यसमा कुनै प्राविधिक सामग्रीको कारणले झन्झटिलो भएको भए सहज बनाउनुपर्छ । हामी त्यसो गर्न तयार छौँ ।’

मन्त्री बाँस्कोटाले कुनै पनि देशले कसैको पनि स्वास्थ्यमा खेलबाड गर्न नहुने पनि स्पष्ट पार्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गत जेठ १० गते भारत र तेस्रो मुलुकबाट आयात हुने तरकारी र फलफूलको विषादी परीक्षण गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को उक्त निर्णयपछि असार २ गते राजपत्रमा सूचना निकालेर भन्सारमा चेकजाँच थालिएको थियो ।