जनता टाइम्स

७ फाल्गुन २०७८, शनिबार १४:३७

क्यालिब्रेसन उडानले ल्यायो उत्साह, बुद्ध पूर्णिमादेखि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान


रुपन्देही, फागुन ७ । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी बुद्ध पूर्णिमादेखि अन्तर्राष्ट्रिय उडान हुने भएको छ । यस बिमानस्थलमा शुक्रवारबाट यान्त्रिक क्यालिब्रेशन फ्लाइट (यान्त्रिक परीक्षण उडान) उडान सुरु भएको छ ।

बिहीबार एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरो थाई) कम्पनीको जहाज आएसँगै शुक्रबारबाट क्यालिब्रेशन फ्लाइट सुरु भएको हो । अब जेठ २ गते परेको बुद्ध पूर्णिमादेखि यहाँबाट व्यवसायिक उडान हुने जनाइएको छ । सरकारले आगामी बुद्ध पूर्णिमा (२ जेठ) देखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान सुरु गर्ने लक्ष्य राखेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

एडिबीको सहयोगमा निर्माण गरिएको यो विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पछिको नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो । यो नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजना हो ।

यो बिमानस्थलको निर्माण कार्य समयमै सक्नका लागि पूर्ववर्ती सरकारका प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसहित तात्कालिन पर्यटनमन्त्री स्व. रवीन्द्र अधिकारी तथा उहाँकोनिधनपछि मन्त्रालय सम्हाल्नुभएका योगेश भट्टराई र भानुभक्त ढकालले बिशेष चासो दिनुभएको थियो । पूर्वअर्थमन्त्री बिष्णु पौडेलको पनि यो बिमानस्थल निर्माणमा बिशेष योगदान रहेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थलको भौतिक निर्माण कार्यसम्पन्न भइ उपकरणहरु जडान भइसकेको छ ।