जनता टाइम्स

२० असार २०७६, शुक्रबार १३:५०

राजधानीमा बाटिक मेला शुरु


काठमाडौं, असार २०

राजधानीमा बाटिक मेला शुरु भएको छ । इन्डोनेशियाली दूतावास र नेपालस्थित इन्डोनेशियाली अवैतनिक वाणिज्यदूतको कार्यालयद्वारा आयोजित सो मेला राजधानीको दरबारमार्गस्थित होटल अन्नपूर्णमा बिहीबारबाट शुरु भएको हो ।

नेपालका लागि इन्डोनेशियाली राजदूत रिनो पि सोएमर्मो र नेपालका लागि इन्डोनेशियाली अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकालले मेलाको संयुक्तरूपमा उद्घाटन गर्नुभएको हो । आजसम्म सञ्चालन हुने मेलामा इन्डोनेशियाली बाटिकद्वारा निर्मित पहिरनहरु राखिएको उक्त कार्यक्रमको सह–आयोजक आइएमइ समूहले जनाएको छ ।

मेलामा बाटिक कपडाका सौखिनहरुका साथै नेपालमा रहेका इन्डोनेशियाली समुदायका नागरिक र नेपाल तथा इन्डोनेशियाका ट्राभल एजेन्सीहरुको पनि सहभागिता रहने बताइएको छ । मेलाको उद्घाटन कार्यक्रममा नेपालका लागि इन्डोनेशियाली राजदूत सोएमर्मोले इन्डोनेशिया र नेपालको सम्बन्धको घनिष्ठताको चर्चा गर्नुभयो ।

इन्डोनेशिया नेपालको एक हितैषी राष्ट्र हो भन्दै उहाँले यी दुई देशबीच धार्मिक, सांस्कृतिक लगायतका धेरै क्षेत्रमा असल सम्बन्ध रहिआएको स्पष्ट गर्नुभयो । नेपालका लागि इन्डोनेशियाली अवैतनिक वाणिज्यदूत ढकालले नेपाल र इन्डोनेशियाबीचको असल सम्बन्धको चर्चा गर्दै पछिल्लो समयमा इन्डोनेशिया र विशेषगरी त्यहाँको बाली टापू नेपाली पर्यटकहरुको एक आकर्षक गन्तव्य बनेको बताउनुभयो ।

दुई देशबीचका सांस्कृतिक समानताहरुलाई जनस्तरमा पुर्याउन र एकले अर्का देशका पर्यटकहरुलाई आफ्नो देशमा स्वागत गर्नका लागि गएका केही वर्षयतादेखि यस्ता सांस्कृतिक आदानप्रदानका कार्यक्रमहरु जारी राखिएको उहाँले बताउनुभयो ।

पछिल्लो समयमा यी दुई देशका नागरिक एक अर्को देशमा पर्यटकका रूपमा भित्रिने सङ्ख्यामा उल्लेख्य वृद्धि भएको र यसले आगामी दिनमा नेपालमा इन्डोनेशियाली लगानी आकर्षित गर्न मद्दत पुग्ने ढकालले बताउनुभयो । उद्घाटन कार्यक्रममा इन्डोनेशियाको कला र संस्कृति झल्किने खालका विविध सांस्कृतिक कार्यक्रम तथा इन्डोनेशियाली बाटिकबाट निर्मित पहिरनहरुको ‘फेसन सो’ पनि प्रस्तुत गरिएको थियो ।