गुल्मी, ८ फागुन । मुसिकोट नगरपालिका–३ वडागाउँको पेगामा डेढ करोड बढिको खानेपानी योजना निर्माण भएपछि स्थानीय खुसी भएका छन् । पाँच किलोमिटर भन्दा लामो पाइपलाइन मार्फत पाउखोला पेगा लिफ्ट खानेपानी योजना निर्माण गरिएको छ । नेकपा एमालेका सचीव तथा गुल्मी क्षेत्र न. २ का सांसद गोकर्ण बिष्टले उद्घाटन गर्दै काकाकुल गाउँमा पानीको धारा र शोकाकुल दिदिबहिनीको अनुहारमा खुशी देख्न पाउनु नै आफूहरुको उपलब्धि भएको प्रतिक्रिया दिनुभयो ।
नेता विष्टले केहि पहिलेसम्म गाउँमा दुध मोहिभन्दा पिउने पानी पाउन मुस्किल पर्ने स्थितीको स्मरण गर्दै ‘चुनावमा भोट माग्दा जनताले सय मिटर पाइप मागेको बताउनुभयो । अहिले करोडौका खानेपानी योजना निर्माण र घरमै धारा खस्ने अवस्था बनाएका छौ,’ उहाँले भन्नुभयो,‘अब योजना व्यवस्थित गरेर पानी खाने काममा उपभोक्ताहरु गम्भिर बन्नुपर्छ ।’ खानेपानी योजना ०७५/०७६ सालमा निर्माण सम्झौता भएर ०७७/०७८ मा सम्पन्न गरिएको थियो ।
यो खानेपानी आयोजना लुम्बिनी प्रदेश सरकारको एक करोड ५९ लाख १८ हजार एक सय २५ र स्थानीयको ४६ लाख पाँच हजार नौ सय ८१ रुपैयाँको जनश्रमदान गरेर दुई करोड ५२ लाख चार हजार एक सय छ रुपैयाँको लागतमा निर्माण गरिएको पाउखोला पेगा लिफ्ट खानेपानी तथा सरसफाइ योजनाका अध्यक्ष तुल्सी बहादुर रायमाझीले बताउनुभयो ।

यो खानेपानी योजनाबाट एक सय ५१ घरमा एक घर एक धारा सन्चालन भएको रायमाझीले जानकारी दिनुभयो । लुम्बिनी प्रदेश सभा सदस्य खड्ग केसीले जनताका मझौला समस्या प्रदेश सरकारले पुरा गरिरहेको बताउनुभयो । समन्वय गरेर जनताका साना योजना स्थानीय सरकार, मझौला योजना प्रदेश र ठुलो योजनाहरु संघीय सरकार मार्फत संचालन गरे प्रभावकारी हुने खड्काको भनाई छ ।
मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले नगरको चुनौती र चुनावी नारा भएकाले पाँच बर्षमा दुई दर्जन बढी साना–ठुला खानेपानी योजना निर्माण गरेर घर–घरमा खानेपानीको व्यावस्था गरिएको बताउनुभयो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख आदिब हुसैनले उपभोक्ता समिति अध्यक्ष तुल्सी रायमाझीलाई योजना हस्तान्तरण गर्नुभयो हुसैनले मुसिकोटमा खानेपानीको योजना, योजना कार्यान्वयन र परिणाम निकै उदाहरणीय रहेको बताउनुभयो ।
उहाँले अरु ठाउँमा सरकारका संयन्त्र एकातिर र स्थानीय तह अर्कातिर हुँदा प्रभावकारी योजना संचालन र सदुपयोगमा समस्या भएको स्मरण गर्दै आगामी दिनका चुनौतीमा सजग हुन आग्रह गर्नुभयो । मुसिकोट नगरपालिका–३ कि बसन्ती जिसिले बिगतको खानेपानीको समस्या निकै कष्टपूर्ण रहेको बताउनुभयो । उहाँले घण्टौ पानी बोकेर उर्जाशिल उमेर बितेकाले घर छेउमा पानी आउँदा खुसी नहुने कुरै नभएको प्रतिक्रिया दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्