काठमाडौं, फागुन १० । काठमाडौंमा नक्कली मह उत्पादन गरेर विक्री वितरण गरेको अभियोगमा पक्राउ परेका नरबहादुर श्रेष्ठले अखाद्य कुकिज, विस्कुट र पाउरोटीसमेत बजारमा पठाउने गरेको भेटिएको छ ।महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरले गरेको अनुसन्धानका क्रममा अखाद्य वस्तु मिसाएर ‘स्पर्श मह’उत्पादन गरिरहेका श्रेष्ठले म्याद गुज्रेका र बजारमा बिक्री नभइ फिर्ता भएका सामग्रीलाई पुनः प्याकेजिङ गरेर पठाउने गरेको भेटिएको हो ।

महाशाखाका एसपी कृष्णप्रसाद कोइरालाका अनुसार उहाँले अन्य अखाद्य सामग्री पनि विक्री वितरण गरिरहेको भन्ने सूचना आएपछि प्रहरीले ललितपुर–२७, सुनाकोठीमा रहेको ‘स्पर्श फुड प्रोडक्ट एण्ड प्याकेजिङ कम्पनी प्रा.लि।’ र ‘त्रितारा फुड्स एण्ड एस्पाइसी प्याकेजिङ प्रा.लि.’ मा छापा मारेको थियो । त्यसक्रममा म्याद नाघेका तथा सडेका विस्कुट तथा पाउरोटीहरुलाई पुनः धुलो बनाएर कुकिज, टोस्ट र विस्कुट बनाइ बजारमा विक्री गर्ने गरेको पाइएको उहाँले बताउनुभयो । गत माघ ६ गते पक्राउ परेका श्रेष्ठले ३ वर्षअघि नै म्याद गुज्रिसकेका कुकिजबाट बटर चक्लेट र काजु कुकिज बनाएर बिक्री गरेको पाइएको प्रहरीले जनाएको छ ।

अत्यधिक सडेगलेका पाउरोटीलाई सुकाएर पुन कुकिज बिस्कुट बनाउनुका साथै म्याद गुज्रेका पाउरोटीको धुलो बनाई क्रन्ची तथा चिकेन रोस्ट बनाउन प्रयोगमा ल्याइएको पाइएको एसपी कोइरालाले जानकारी दिनुभयो । प्रहरीले कम्पनीबाट बरामद विभिन्न अखाद्य सामग्री बरामद गरेर पनि नष्ट गरेको छ । थप कारबारी तथा अनुसन्धान खाद्य तथा गुण नियन्त्रण विभागबाट भइरहेको छ ।
र, यो पनि













प्रतिक्रिया दिनुहोस्