जनता टाइम्स

१० फाल्गुन २०७८, मंगलवार १२:४४

ब्राउन सुगरसहित प्रविण बिसी पक्राउ


नेपालगञ्ज, १० फागुन । बाँके प्रहरीले आज बिहान लागु औषध ब्राउन सुगरसहित एक जनालाई नेपालगञ्जबाट पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका–१६ चौलिकाचोक नजिकैबाट बर्दिया बढैयाताल गाउँपालिका–१ शान्तिपुरका २४ वर्षीय प्रविण बिसीलाई १५० ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको बाँकेका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपाने जानकारी दिनुभयो ।

उहाँका अनुसार सीमा क्षेत्रको निगरानीमा रहेको लागु औषध नियन्त्रण व्यूरो र जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले बिसीको हिँडाइ शंकास्पद देखेपछि खानतलासी गर्दा ज्याकेटको दाँहिने खल्तीमा तीनवटा प्लाष्टिकमा पोका पारी राखिएको ब्राउनसुगर बरामद भएको हो । प्रहरीले बिसीको साथबाट तीन हजार नगद समेत फेला परेको छ ।

उनी एक वर्षदेखि लागु औषध सेवन तथा कारोवारमा संलग्न रहेको खुलेको प्रहरीको दाबी छ । सीमावर्ती रुपैडिया बजारबाट भारतीय नागरिकलाई चार लाख रुपैयाँ दिएर उनले ब्राउन सुगर भारतीय बजार रुपैडिहामा खरिद गरि काठमाडौँ पठाउने गरी ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरिक्षक न्यौपानेले जानकारी दिनुभयो ।