जनता टाइम्स

१३ फाल्गुन २०७८, शुक्रबार १६:३७

एमसीसी पास गर्ने प्रचण्डको भित्री योजना खुल्यो, सत्ता गठबन्धन जोगाउन जे पनि गर्ने घोषणा


काठमाडौं, फागुन १३ । नेकपा माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले जसरी पनि सत्ता गठबन्धन जोगाउनु पर्ने बताउनु भएको छ ।

अमेरिकी सहायता परियोजना (एमसीसी) को बिरोध गर्ने नाटक गर्दै आउनु भएका प्रचण्डले सत्ता गठबन्धन जोगाउन जे पनि गर्ने घोषणा गर्नुभएको हो । आज बसेको केन्द्रीय कार्यालय बैठकमा प्रचण्डले एमसीसीका कारण गठबन्धन भत्किन दिन नहुने भन्दै सरकार छाडने कुरा नगर्न सवैलाई उर्दी गर्नुभयो ।

एमसीसीबारे हाम्रो पार्टीको धारणा स्पष्ट छ । तर, पाँच दलीय गठबन्धन पनि बचाउनुपर्ने आवश्यकता र दायित्व हाम्रै काँधमा आएको छ,’ बैठकमा प्रचण्डको भनाई उधृत गर्दै एक नेताले जनताटाइम्स डटकमसँग भने, ‘हाम्रै जोडबलमा यो गठबन्धन बनेको हो । जनतामा एमसीसी राष्ट्रघाती भएकाले पास गर्नुहुन्न भन्ने परिसकेको छ । यस्तो बेला एमसीसीलाई अगाडि बढाउने अवस्था पनि छैन ।’

प्रचण्डले आफूहरुले सरकार छाडे एमाले अध्यक्ष केपी शर्मा ओली पुनः सत्तामा फर्कने त्रास देखाउँदै सरकार छाडनै नहुने बताउनु भयो । ‘एमसीसीकै कारण गठबन्धन भत्काउन सकिन्छ भनेर थुप्रै तत्वहरु लागेका छन्। देशी–विदेशी सबै यही कुरामा खनिएका छन । यस्तो बेलामा फेरि एकपटक हामीले संघर्षबाट बनेको गठबन्धन बचाउनुपर्छ,’ प्रचण्डको भनाई थियो ।

यस्तै गठबन्धन भत्काउने गरी कांग्रेसभित्रकै नेताहरु लागेको सूचना आफूलाई प्रधानमन्त्री शेरबहादुर देउवा दिएको बताउनु भयो । ‘कांग्रेसभित्रै पनि एमसीसीकै आधारमा देउवालाई असफल बनाउने प्रयास भइरहेको देखिन्छ । उहाँको बुझाई पनि एमसीसीकै आधारमा गठबन्धन भत्काउन सके देउवालाई कमजोर बनाउन सकिन्छ भनेर पार्टीका केही नेताहरु लागेका छन् भन्ने छ,’ बैठकमा प्रचण्डको भनाई छ ।