विराटनगर, फागुन १८ । सत्तारुढ नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्दा गरिएको व्याख्यात्मक टिप्पणीलाई पिसाव फेरिएको न्यानो थाङ्नोको टिप्पणी गर्नुभएको छ ।
आफ्नै पार्टीका अध्यक्ष माधवकुमार नेपाल र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ब्याख्यात्मक टिप्पणीपछि एमसीसी राष्ट्रघाती नरहेको बताइरहनु भएको बेला खनालले सो टिप्पणीको कुनै अर्थ नरहेको भोषणा गर्नुभएको हो ।
बिहीबार विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै खनालले भन्नुभयो, ‘व्याख्यात्मक टिप्पणी न्यानो थाङ्नोबाहेक केही होइन, नेपालका नेताहरु आनन्दपूर्वक सुतुन भनेर बनाइएको थाङ्नो हो, त्यो थाङ्नोमा अहिले साथीहरु सुत्नुभएको छ ।’
पूर्वप्रधानमन्त्री खनालले विधि प्रक्रिया विपरीत एमसीसी पास गरिएको आरोप पनि लगाउनु भयो । प्रक्रिया नमिलाई एमसीसी पास गर्नु देशका लागि लज्जास्पद भएको उल्लेख गर्दै खनालले एमसीसी पारित गर्दाको परिणाम विस्तारै देखिने ठोकुवा गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्