जनता टाइम्स

१८ फाल्गुन २०७८, बुधबार १८:५२

माधव नेपालका केन्द्रीय सदस्य बलात्कार आरोपीकै पक्षमा उभिए, प्रहरी कार्यालयमै गरे चर्को नारावाजी


काठमाडौं, फागुन १८ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सत्तारुढ नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य पुन्य गौतम बलात्कार आरोपी पल शाहको पक्षमा नाराजुलुस गर्दै जिल्ला प्रहरी कार्यालय तनहुँमै घेराउ गर्न पुग्नुभएको छ ।

फेसबुक, युट्युब, टिकटक लगायतका सामाजिक सञ्जालमा अराजकता मच्चाउँदै आएकोमापुरस्कार स्वरुप माधवले केन्द्रीय सदस्य बनाउनु भएपछि सत्तारुढ दलको नेताको हैसियतमा गौतम बलात्कार आरोपीको पक्षमा नाराजुलुस गर्न तनहुँ पुग्नुभएको हो ।

एक नाबालिग किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा कलाकार पल शाह आइतबारदेखि उक्त प्रहरी कार्यालयको न्यायिक हिरासतमा हुनुहुन्छ । फरार भएको चार दिनपछि मात्रै शाह जिप्रका दमौली पुग्नुभएको थियो । पल हिरासत पुगेपछि उहाँलाई पछ्याउँदै केही हुल युट्युबर र माधवका केन्द्रीय सदस्य गौतम पनि दमौली आइपुग्नुभएको हो ।

क्यामेरा बोकेर प्रहरी कार्यालयको गेट अगाडि उभिनु, पललाई भेट्न आउने–जानेहरूको बयान लिनु र पलको समर्थनमा माहोल बनाउनुजस्ता काम सोमबारदेखि गौतम नेतृत्वको समुह लागिपरेको छ । सोमबार त उनीहरूले पलको समर्थनमा जिल्ला प्रहरी कार्यालयको गेटअगाडि नाराबाजी नै गरे। नाराबाजीको नेतृत्व नेकपा एसका केन्द्रीय सदस्य पुण्य गौतमसहित शर्मिला वाइबा र कलाकारसमेत रहेका जयकिशन बस्नेतले गर्नुभएको थियो।

सोसमुहले ‘पल शाहलाई रिहा गर’, ‘दुर्गेश थापा मुर्दावाद’ जस्ता नारा लगाएका छन । गौतमको यो हर्कत र नेकपा एसको मौनताले कतै माधव नेपालले नै त पलको पक्षमा नारावाजी गर्न पठाउनु भएको होइन भन्ने प्रश्न उठेको छ ।

गौतमलाई गत कात्तिकमा माधवले केन्द्रीय सदस्य मनोनीत गर्नुभएको थियो । त्यसबारे जानकारी दिँदै गौतमले सामाजिक सञ्जाल फेसबुक मार्फत आफू नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्यमा मनोनयन भएको जानकारी गराउनु भएको थियो ।

आफ्नो फेसबुक स्टाटसमा गौतमले लेख्नुभएको छ, ‘मलाई नेकपा एकीकृत समाजवादीको केन्द्रिय स।कमिटी सदस्यको जिम्मेवारी दिनुभएकोमा श्रद्धेय अध्यक्ष एवं सम्माननिय पुर्व प्रधानमन्त्री क. माधव नेपाल र हाम्रो पार्टीप्रति हार्दिक आभारी छु ।’