जनता टाइम्स

२० फाल्गुन २०७८, शुक्रबार १२:५९

छात्रावासबाट हराइन् चौध वर्षीय बालिका


तनहुँ, २० फागुन । बौद्धिक अपाङ्गता भएकी एक छात्रा विद्यालयको छात्रावासबाट हराएकी छन् । व्यासनगरपालिका–५ स्थित सिन्धु आधारभूत विद्यालयको विशेष कक्षाअन्तर्गत अध्ययनरत बौद्धिक अपाङ्गता भएकी सलिना खातुन सो विद्यालयको छात्रावासबाट हराएकी हुन् । जिल्लाको भानुनगरपालिका–३ तुरतुरे घर भई हाल छात्रावासमा रही अध्ययन गर्दै आएकी १४ वर्षीय खातुन बिहीबार बिहानदेखि हराएकी छन् ।

बिहीबार बिहान अन्दाजी ४ बजेको समयमा कसैलाई पनि जानकारी नगराई छात्रावासबाट बाहिर निस्कर हिँडेको अनुमान गरिएको खातुन ४।५ फिट अग्लो रहेको बताइएको छ । आँखाको रङ कालो, कालो वर्ण, खैरो हाइनेक र नीलो सुरुवाल पोसाकमा उनी हराएकी विद्यालयकी शिक्षिका सीतादेवी कुँवरले जानकारी दिनुभयो ।

आफूहरुले बिहान ६ बजे मात्र उक्त कुराको जानकारी पाएसँगै खोजी कार्यलाई तीव्रता दिएको उहाँले बताउनुभयो ।बिहानीपख ढोका खोलेको छात्रावासमा बस्ने सहयोगीले थाहा पाए पनि दिसापिसाब फेर्न निस्किएको होला भनी बेवास्ता गरिँदा बालिका हराउन गएको बताइएको छ । उक्त आवासमा हाल आठ छात्रा र सात छात्र गरी पन्ध्रजना छात्रछात्रा बसेर अध्ययन गर्दै आएका थिए ।

छोरी हराएकाले भेट्नु हुने महानुभावले नजिकको प्रहरी चौकीमा खबर गरी सहयोग गरिदिन आमा दुखेला खातुनले सबैसँग आग्रह गर्नुभएको छ । छोरी हराएको विषयमा जिल्ला प्रहरी कार्यालयमा समेत बिहीबार नै खोजतलासका लागि जाहेरी दिई सकिएको उहाँले बताउनुभयो ।