जनता टाइम्स

५ भाद्र २०८३, शुक्रबार १४:४८

प्रधानमन्त्री बालेन बस्ने रिसोर्टमा सेनाको कडा सुरक्षा : प्रहरी प्रशासन बेखवर, अन्यलाई प्रवेश नै निषेध


राजाको भ्रमणमा अहिले जस्तै प्रहरी-प्रशासनलाई बाइपास गरेर सेनाको सुरक्षा घेरा र उस्कै कमाण्डमा रहने गरेको थियो । गणतन्त्रपछि पहिलो पटक बालेनले राजाको शैली अपनाएर प्रहरी र सिडीओ कार्यालयलाई बाइपास गरी सेनाको घेरा प्रयोग गर्नुभएको हो

पोखरा, भदौ ५ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार माछापुच्छ्रे गाउँपालिका–६, अस्तामस्थित अन्नपूर्ण इको रिसोर्टमा बास बस्ने हुनुभएको छ । नेपाली सेनाले रिसोर्टमा कडा सुरक्षा दिन थालेपछि प्रधानमन्त्री शाह आउने टुंगो लागेको हो ।

यता रिसोर्ट ब्यवस्थापनले सेनाकै निर्देशनमा प्रधानमन्त्री शाह आउने भएपछि अन्य पर्यटकको बुकिङ रोकेको छ । प्रधानमन्त्री शाह स्थलमार्गहुँदै आफै गाडी चलाएर काठमाडौंबाट पोखरा आइसक्नु भएको छ । दिनभर घुमघाम र आफ्नो चाहनाअनुसारको भेटपछि साँझ अन्नपूर्ण इको रिसोर्टमा बास बस्न पुग्ने तय भएको हो ।

सोही कारण रिसोर्ट पुग्ने बाटोमा बिहानैबाट नेपाली सेनाले चेकजाँच गरिरहेको छ । सेनाले रिसोर्टका सञ्चालक र कर्मचारीबाहेक अन्य व्यक्तिलाई रिसोर्टमा आउजाउ गर्न समेत दिएको छैन । चेकजाँचमा खटिएका नेपाली सेनाका प्रतिनिधिले प्रधानमन्त्री शाहको निजी भ्रमण भएकाले सुरक्षा व्यवस्था कडा पारिएको जवाफ दिने गरेका छन ।

अस्तामसँगै जोडिएको पोखरा महानगरपालिका–२५, हेमजाका वडा सदस्य कृष्णबहादुर कुँवरलाई समेत सेनाले कोही जान नपाउने भन्दै बाटोबाटै फर्काइदिएको छ । प्रधानमन्त्री शाहलाई भेट्ने आशामा कुँवर अस्ताम जानुभएको थियो । अन्नपूर्ण इको रिसोर्टमा बास बसेपछि प्रधानमन्त्री शाह शनिबार मुस्ताङ जाने कार्यक्रम रहेको बताइएको छ ।

प्रधानमन्त्री शाहको यो भ्रमणबारे जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला प्रशासन कार्यालय कास्कीले भने आफूहरूलाई कुनै जानकारी नभएको बताएका छन । प्रधानमन्त्री शाहका लागि सेनाले शाहीकालिन झल्को दिएर ‘तात्कालिन राजा’ लाई जस्तो सुरक्षा घेरा बनाएको छ ।

राजतन्त्रमा राजाको भ्रमणमा अहिले जस्तै प्रहरी र जिल्ला प्रशासनलाई बाइपास गरेर सेनाको सुरक्षा घेरा र उस्कै कमाण्डमा रहने गरेको थियो । गणतन्त्रपछि पहिलो पटक बालेनले राजाको शैली अपनाएर प्रहरी र सिडीओ कार्यालयलाई बाइपास गरी सेनाको घेरा प्रयोग गर्नुभएको हो ।

देश लुटने रहेछ नयाँको खास चाख, मन्त्री सुनिलले एकै दिन स्वाहा पारे राज्यको ३५ लाख