कांग्रेस–एमाले, नेकपादेखि राप्रपा र श्रम संस्कृतिसम्मले माइक समाते, प्रधानमन्त्री बालेनले भने समाते मोबाइल अनि धस्काए खुलामञ्चलाई ओझेलमा पार्ने फेसबुके राजनीति तर भुल पदीय मर्यादा र राजनीतिक संस्कार ।
हरदम कोइराला/काठमाडौं ।
काठमाडौँमा एउटा मञ्च खुलेको छ ।
नाम—खुलामञ्च।
मञ्च खुलेपछि त्यहाँ कार्यक्रम भयो, कार्यक्रम भएपछि भाषण भयो, भाषण भएपछि सरकारको आलोचना भयो र आलोचना भएपछि प्रधानमन्त्रीको फेसबुक खुल्यो । लोकतन्त्र पनि अचम्मको चीज रहेछ- मञ्च खुल्नासाथ फेसबुक पनि खुल्दोरहेछ ! नबोल्ने मान्छे पनि रातिराती बोल्दोरहेछ ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले लेखे, ‘धन्न खुलामञ्च राम्रो बनाइएछ,
नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन् !’
बस्।यति नै। तर नेपाली राजनीति यति संवेदनशील छ कि यहाँ दुई लाइनको स्टाटसले पनि एउटा पूरा ‘डिबेट’ जन्माउँछ ।
मञ्चमा कांग्रेस, मोबाइलमा प्रधानमन्त्री
कांग्रेस महाधिवेशनको उद्घाटन खुलामञ्चमा भयो । कांग्रेसका नेताहरूले बोले, प्रधानमन्त्रीकै दलका सभापति रवि लामिछानेदेखि बिपक्षी दल एमालेका महासचिव शंकर पोखरेल, नेकपाका संयोजक प्रचण्ड, राप्रपाका राजेन्द्र लिङदेन र श्रम संस्कृतिका आरेन राईसम्मले बोले ।
सरकारमाथि कडा प्रश्न उठाए, प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठ्यो । नियतलाई लिएर पनि प्रधानमन्त्रीमाथि टिप्पणी भयो।तर प्रधानमन्त्री त्यहाँ थिएनन्।
उनी कहाँ थिए ? फेसबुकमा।
राजनीतिको पुरानो सूत्र थियो– नेता मञ्चमा, जनता मैदानमा । अब नयाँ सूत्र आएको छ–नेता मञ्चमा, प्रधानमन्त्री फेसबुकमा ।
समय बदलिएको छ। पहिले नेताले भाषण सक्थे, अब स्टाटस नआएसम्म कार्यक्रम सकिँदैन।
‘नयाँ पार्टी’को पुरानो व्यंग्य
प्रधानमन्त्रीले कांग्रेसलाई ‘नयाँ पार्टी’ भने। यहाँबाट व्यंग्यको असली ढोका खुल्छ । दशकौँ पुरानो पार्टी। लामो इतिहास बोकेको पार्टी । नेताहरू पनि पुराना । झण्डा पुरानै ।
तर प्रधानमन्त्रीको भाषामा–नयाँ पार्टी ! सायद नेपालको राजनीतिमा अब उमेर होइन, व्यवहारले पार्टीको उमेर निर्धारण गर्छ ।पुरानो पार्टीले नयाँ शैली अपनायो भने नयाँ । नयाँ पार्टीले पुरानै राजनीति गर्यो भने पुरानो ।
अनि सबैभन्दा रोचक कुरा–नयाँ भनिनेहरू पनि पुरानाहरूलाई गाली गर्दै आफूलाई नयाँ प्रमाणित गरिरहेका छन्।
पुरानाहरू नयाँलाई गाली गर्दै आफ्नो पुरानोपन बचाइरहेका छन्।
जनता बीचमा उभिएर हेर्दैछन्। नेपाली राजनीतिमा ‘गाली’ पनि लोकतान्त्रिक शब्द भइसक्यो-आफूलाई गरिएको आलोचना–गाली, आफूले गरेको गालीचाँहि–सदाबहार सत्य ।
विपक्षले गरेको टिप्पणी–राजनीतिक संस्कारको पतन ।
आफ्नो पक्षले गरेको टिप्पणी–निर्भीक आवाज।
राजनीतिक दलहरूका शब्दकोशमा एउटै शब्दका यति धेरै अर्थ छन् कि नेपाली शब्दकोशले पनि लाज मान्न थालेको छ ।
‘गाली’को अर्को अर्थ के हो ?
आफूलाई मन नपरेको राजनीतिक अभिव्यक्ति ।
तर लोकतन्त्रमा एउटा असजिलो नियम छ–तपाईंले बोल्न पाउनुहुन्छ भने तपाईंका विरोधीले पनि बोल्न पाउँछन्।
तपाईंले सरकारको आलोचना गर्न पाउनुहुन्छ भने सरकारले पनि जवाफ दिन पाउँछ ।
तर जवाफ दिँदा एउटा सानो समस्या हुन्छ– सत्तामा बसेपछि हरेक जवाफ आफैँ समाचार बन्छ।
खुलामञ्च खुल्यो, ‘कमेन्ट सेक्शन’ झन् खुल्यो
कांग्रेसको कार्यक्रम सकियो ।
मञ्च खाली भयो । माइक थन्कियो ।
तर बहस ?
अझै चलिरहेको छ।
फेसबुकमा।
युट्युबमा।
टिकटकमा।
अनलाइन समाचारका कमेन्टमा।
अब राजनीतिक सभा खुलामञ्चमा मात्र हुँदैन।
मोबाइलको स्क्रिन नै नयाँ खुलामञ्च हो।
फरक यति हो–
खुलामञ्चमा भाषण गर्न हजारौँ मानिस चाहिन्छ ।
फेसबुकमा भाषण गर्न एउटा मोबाइल पर्याप्त छ ।
पहिले नेताले भीड खोज्थे।
अहिले पोस्टले भीड खोज्छ।
र पोस्ट भाइरल भयो भने–
भीड आफैँ आइपुग्छ।
कांग्रेसलाई खुलामञ्च चाहियो, बालेनलाई फेसबुक पुग्यो
यो दृश्यलाई एकपटक चित्रजस्तो हेरौँ।
खुलामञ्चमा कांग्रेस।
हातमा माइक।
अगाडि कार्यकर्ता।
पछाडि झण्डा।
मञ्चमा भाषण।
उता कतै प्रधानमन्त्री।
हातमा मोबाइल।
सामु स्क्रिन।
औँला किबोर्डमा।
अनि दुई लाइन।
“धन्न खुलामञ्च राम्रो बनाइएछ…”
कांग्रेसले सभा गर्यो।
प्रधानमन्त्रीले त्यसको समीक्षा गरेनन, व्यंग्य गरे।
यहीँबाट आजको नेपाली राजनीतिको एउटा सुन्दर चित्र बन्छ–मञ्च लोकतन्त्रको पुरानो प्रविधि हो।
फेसबुक त्यसको नयाँ प्रसारण केन्द्र।
तर असली प्रश्न गालीको होइन
प्रधानमन्त्रीले ‘गाली’ भने।
कांग्रेसले त्यसलाई आलोचना भन्यो होला।
समर्थकहरूले आफ्नो–आफ्नो अर्थ लगाए होलान्।
तर मूल प्रश्न अलि फरक छ।
सत्तामा बसेकाहरू आलोचना सुन्न कति तयार छन ?
र विपक्षमा बसेकाहरू आलोचना गर्न कति जिम्मेवार छन ?
लोकतन्त्रमा दुवै कुरा आवश्यक छन्।
सरकारलाई प्रश्न गर्ने अधिकार।
सरकारको जवाफ दिने दायित्व।
विपक्षलाई आलोचना गर्ने अधिकार।
आलोचना सुन्ने धैर्य।
नत्र मञ्च त खुल्छ–तर लोकतन्त्र बन्द हुन सक्छ।
खुलामञ्चको नाम ‘खुला’ किन राखियो ?
खुलामञ्चमा आफ्नो कुरा मात्र सुनाउन पाइने भए यसको नाम ‘खुलामञ्च’ किन राखिन्थ्यो?
‘आफ्नोमञ्च’ राखे भइहाल्थ्यो।
तर खुलामञ्चको अर्थ नै हो–
यहाँ फरक आवाज आउँछन्।
कहिलेकाहीँ ताली।
कहिलेकाहीँ हूटिङ।
कहिलेकाहीँ प्रश्न।
कहिलेकाहीँ कटाक्ष।
कहिलेकाहीँ गम्भीर आलोचना।
र कहिलेकाहीँ—
फेसबुक स्टाटस।
त्यसैले प्रधानमन्त्रीको स्टाटसलाई पनि त्यही लोकतान्त्रिक कोलाहलको एउटा आवाजका रूपमा हेर्न सकिन्छ।
तर सत्ताको असली परीक्षा स्टाटस लेख्नुमा होइन।
स्टाटसपछि उठेका प्रश्न सुन्नुमा हो।
अन्तिममा, एउटा सानो व्यंग्य
धन्न खुलामञ्च राम्रो बनाइएछ।
नत्र कांग्रेसले कहाँ कार्यक्रम गथ्र्यो ?
कहाँबाट सरकारलाई गाली गथ्र्यो ?
कहाँबाट विपक्षले आवाज उठाउँथ्यो ?
कहाँबाट प्रधानमन्त्रीले सुन्थे ?
कहाँबाट फेसबुक स्टाटस आउँथ्यो ?
कहाँबाट अनलाइन समाचार बन्थ्यो ?
र कहाँबाट हामी फेरि बहस गथ्र्यौं– ‘गाली हो कि आलोचना ?’
नेपालमा लोकतन्त्रको परिभाषा शायद अब यति सरल भएको छ–
एक जना बोल्छ, अर्को रिसाउँछ।
तेस्रोले स्टाटस लेख्छ, चौथोले समाचार बनाउँछ, पाँचौँले कमेन्ट गर्छ, छैटौँले शेयर गर्छ।
अनि सातौँले सोध्छ—
“देशचाहिँ कहिले बन्छ ?”
त्यसपछि सबै फेरि अर्को स्टाटस पढ्न थाल्छन्।
त्यसैले—
खुलामञ्च खुल्यो।
माइक खुल्यो।
फेसबुक खुल्यो।
कमेन्ट खुल्यो।
अब कान पनि खुलोस्।
किनकि लोकतन्त्रमा सबैभन्दा महँगो वस्तु मञ्च होइन–
असहमति सुन्न सक्ने कान हो ।












प्रतिक्रिया दिनुहोस्