काठमाडौं, असोज १९। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उद्योगपति विनोद चौधरीले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ। उहाँले आफ्नो उम्मेदवारी पार्टीमा युवा नेतृत्व स्थापित गर्दै आर्थिक रूपान्तरणलाई राजनीतिको केन्द्रमा राख्ने उद्देश्यसहित अघि बढाएको बताउनुभएको छ।
महाधिवेशन प्रतिनिधिहरूलाई अपिल जारी गर्दै चौधरीले नेपालमा अहिले युवा नेतृत्व र आर्थिक समुन्नतिको स्पष्ट भिजन भएका नेताको आवश्यकता रहेको बताउनुभएको छ। उहाँले भन्नुभएको छ, “देशले अहिले युवा नेतृत्वको खोजी गरिरहेको छ । यस महाधिवेशनबाट नेपाली कांग्रेसले युवाहरूलाई नेतृत्वमा स्थापित गर्नुपर्छ । साथै, आर्थिक समुन्नतिको स्पष्ट भिजन भएका नेताहरूलाई नेतृत्व तहमा पुर्याई आर्थिक रूपान्तरणमा नयाँ अध्याय सुरु गर्नुपर्नेछ।”
चौधरीले आफूले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा कुनै व्यक्ति वा समूहप्रतिको वैरभावका कारण सहभागिता नजनाएको स्पष्ट पार्नुभएको छ। उहाँले विशेष महाधिवेशनमा आफ्नो सहभागिता Gen Z आन्दोलनले दिएको सन्देश, परिवर्तनको जनआकांक्षा र नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्ने प्रतिबद्धताका आधारमा भएको बताउनुभएको छ। “पार्टीमा युवा नेतृत्वलाई स्थापित गर्दै जनअपेक्षाअनुसारको नेपाली कांग्रेस निर्माण गर्नुपर्छ भन्ने सोचका साथ मैले विशेष महाधिवेशनलाई सफल बनाउन आफूलाई पूर्ण रूपमा समर्पित गरेको थिएँ,” उहाँले भन्नुभएको छ।
चौधरीले नेपालमा राजनीतिक परिवर्तनका विभिन्न चरण पार भए पनि आर्थिक विकास, रोजगारी सिर्जना र समृद्धिको गति अपेक्षाअनुसार अघि बढ्न नसकेको बताउनुभएको छ। उहाँले आर्थिक रूपान्तरणका एजेन्डामा कांग्रेस सभापति गगन थापासँग निरन्तर सहकार्य गर्दै आएको पनि उल्लेख गर्नुभएको छ।
नेपालको आर्थिक इतिहासमा २०४८ देखि २०५१ सालसम्म नेपाली कांग्रेसको नेतृत्वमा अघि बढाइएको आर्थिक सुधारलाई ऐतिहासिक र दूरगामी महत्वको भन्दै चौधरीले त्यसबाट खुलेका सम्भावनालाई थप विस्तार गर्न नसक्दा देशले अपेक्षित आर्थिक गति लिन नसकेको धारणा राख्नुभएको छ। उहाँले भन्नुभएको छ, “उदारीकरण, निजी क्षेत्रको विस्तार र आर्थिक सुधारमार्फत अघि बढाइएको त्यस यात्राले नेपालको अर्थतन्त्रमा नयाँ सम्भावनाका ढोका खोल्यो। तर समयसँगै ती सुधारलाई थप गहिरो, व्यापक र प्रभावकारी बनाउँदै अर्को चरणमा लैजान नसक्दा नेपालले आर्थिक विकासको दौडमा अपेक्षित गति लिन सकेन।”
चौधरीले तत्कालीन आर्थिक सुधारमा महेश आचार्य र डा. रामशरण महतले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको उल्लेख गर्दै आफूले नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षका रूपमा निजी क्षेत्रबाट आर्थिक उदारीकरणलाई संस्थागत गर्न भूमिका निर्वाह गरेको दाबी गर्नुभएको छ।
त्यसैगरी, उहाँले बीपी कोइरालाको राजनीतिक सोच र सुवर्णशमशेर जबराले अघि सारेको आर्थिक विकासको जगलाई थप समृद्ध बनाउनु अहिलेको आवश्यकता रहेको बताउनुभएको छ। “बीपी कोइरालाको दूरगामी राजनीतिक सोच र सुवर्णशमशेर जबराले हालेको आर्थिक विकासको जगलाई समृद्ध बनाउनु अहिलेको आवश्यकता हो। यसका लागि उहाँहरूको सपनालाई साकार तुल्याउन म हरसम्भव कोसिस गर्नेछु,” चौधरीले भन्नुभएको छ।
उहाँले अब देशको विकासका लागि राजनीतिक नेतृत्व र आर्थिक विज्ञ तथा नीति–निर्माताबीच बलियो, संस्थागत र निरन्तर सहकार्य आवश्यक रहेकोमा जोड दिनुभएको छ। “हामीलाई अब केवल आकर्षक नारा होइन, नयाँ आर्थिक सोच, स्पष्ट नीति, सक्षम कार्यान्वयन, जवाफदेही शासन र परिणाम दिने नेतृत्व चाहिएको छ,” उहाँले भन्नुभएको छ।
युवाको ऊर्जा, नयाँ पुस्ताको आकांक्षा र अनुभवी नेतृत्वको ज्ञानलाई एकीकृत गर्दै नेपाललाई उत्पादनमुखी, रोजगारी सिर्जना गर्ने, नवप्रवर्तनमा आधारित र प्रतिस्पर्धी अर्थतन्त्रमा रूपान्तरण गर्नुपर्ने चौधरीको भनाइ छ।
यही उद्देश्यसहित आफूले १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिएको उहाँले बताउनुभएको छ। “यो उम्मेदवारी केवल एउटा पदका लागि होइन-आर्थिक विकासका एजेन्डालाई राजनीतिको केन्द्रमा पुर्याउन, युवाहरूका आकांक्षालाई सम्बोधन गर्न, आर्थिक रूपान्तरणमार्फत देशको विकासको नेतृत्व नेपाली कांग्रेसले नै गर्न सक्छ भन्ने विश्वासलाई व्यवहारमा पुष्टि गर्न तथा कांग्रेसलाई नयाँ पुस्तासँग जोड्दै अझ सशक्त, आधुनिक र जनमुखी बनाउने संकल्पका लागि हो,” उहाँले अपिलमा उल्लेख गर्नुभएको छ।
चौधरीले अब ‘राजनीतिका लागि राजनीति’ मात्र गरेर देशमा रूपान्तरण सम्भव नहुने बताउँदै आर्थिक समुन्नतिका स्पष्ट योजनामा काम गर्नुपर्ने धारणा राख्नुभएको छ। “आर्थिक समुन्नतिको जिम्मेवारी सम्हाल्न म तयार छु,” उहाँले भन्नुभएको छ।
उहाँले आफ्नो अभियानमा महाधिवेशन प्रतिनिधिहरूको साथ, सहयोग, सुझाव र मतका लागि आग्रह गर्दै विश्वासलाई जिम्मेवारीका रूपमा आत्मसात् गरी आर्थिक रूपान्तरण, सुशासन र नयाँ पुस्ताको आकांक्षालाई केन्द्रमा राखेर कांग्रेसलाई अझ सशक्त र जनमुखी बनाउन इमानदार प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।












प्रतिक्रिया दिनुहोस्