काठमाडौं, असोज १९। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा अब पुनर्निर्माणसँगै सुरक्षित र वैकल्पिक स्थानमा नयाँ बस्ती तथा शहरीकरण अघि बढाउनुपर्ने बताउनुभएको छ।
सोमबार सिंहदरबारमा आयोजित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री थापाले बागमती प्रदेश सरकारले विपद्पछि खोज, उद्धार, उपचार तथा खाद्यान्न सामग्री वितरणको काम सम्पन्न गरिसकेको जानकारी दिनुभयो। अब पुनर्निर्माण र पुनस्थापनालाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने उहाँले बताउनुभयो।
मुख्यमन्त्री थापाले बाढीले बगरमा परिणत भएका स्थानमा पुनः बस्ती बसाल्नुभन्दा सुरक्षित तथा वैकल्पिक स्थान पहिचान गरी नयाँ शहरीकरण गर्नुपर्ने प्रस्ताव बैठकमा राखेको बताउनुभयो। उहाँका अनुसार विदुर नगरपालिका–२ स्थित ‘लामिडाँडा’मा रहेको सामुदायिक वन क्षेत्र बसोबासका लागि सुरक्षित र उपयुक्त देखिएकाले त्यहाँ नयाँ बस्ती विकासका लागि सिफारिस गरिनेछ।
यसअघि बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले उपलब्ध स्रोत, साधन र जनशक्ति परिचालन गरी छिटोभन्दा छिटो विपद् व्यवस्थापनको काम सम्पन्न गरिने बताउनुभएको थियो। उहाँले बाढीपहिरोबाट भएको क्षतिको अध्ययनसहित त्यसको व्यवस्थापनमा सरकार जुटिरहेको भन्दै प्रभावित प्रदेशका मुख्यमन्त्रीहरूलाई ढुक्क रहन आग्रह गर्नुभएको थियो।












प्रतिक्रिया दिनुहोस्