जनता टाइम्स

१९ आश्विन २०८३, सोमबार १४:०७

समाजमा ठूलो अविश्वास र असन्तुष्टि छ, जुनसुकै बेला आगो लाग्न सक्छ : गगन थापा


काठमाडौं, असोज १९ । नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकको वर्तमान अवस्था निकै जटिल रहेको बताउनुभएको छ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्रलाई आज सम्बोधन गर्दै सभापति थापाले समाजमा ठूलो अविश्वास, असन्तुष्टि र बेचैनी सिर्जना भएको बताउनुभएको हो। उहाँले समाज यतिबेला हातमा राँको बोकेर बसेजस्तो अवस्थामा रहेको उल्लेख गर्दै जुनसुकै बेला सानो घटनाले पनि ठूलो रूप लिन सक्ने धारणा राख्नुभएको छ।

“अहिलेको समय झट्ट हेर्दा शान्त छ। चुनाव भएको छ, सरकार छ, दुई तिहाइको बहुमत छ, हामी प्रतिपक्षमा छौँ। सबै ठीकठाक देखिन्छ। तर यस्तो होइन,” उहाँले भन्नुभयो, “अस्ति भर्खर मधेसको घटनाले के देखायो भने सानो एउटा घटनाले पनि एकाएक आगो बल्न सक्ने अवस्था छ।”

सभापति थापाले नेपाली समाजमा ठूलो बेचैनी र फ्रस्टेसन बढिरहेको बताउनुभयो। निर्वाचन सम्पन्न भएको र नयाँ राजनीतिक दलको आगमन भएको अवस्थामा पनि नागरिक असन्तुष्टिका मूल कारण सम्बोधन हुन नसकेको उहाँको भनाइ छ।

“नेपाली समाज बेचैन छ, ठूलो फ्रस्टेसन छ, असन्तुष्टि छ। चुनाव त भयो, नयाँ पार्टी आएको छ, सबै ठीकठाक देखिन्छ। तर यो असन्तुष्टिका कारणहरू सम्बोधन नभएका कारण कुनै पनि बेला कुनै पनि खालको फेरि जनउभारको स्थिति आउन सक्छ भन्ने नेपाली कांग्रेसको विश्लेषण छ,” सभापति थापाले भन्नुभयो।

उहाँले नागरिकका समस्याको समाधान गर्ने राजनीतिक संयन्त्र सतही बनेको टिप्पणी गर्नुभयो। समस्याको जरासम्म पुगेर काम गर्न नसक्दा नागरिकमा असन्तुष्टि बढिरहेको उहाँको भनाइ छ।

बाहिरबाट पैसा आइरहेको भए पनि त्यसको प्रभावकारी परिचालन हुन नसकेको उल्लेख गर्दै सभापति थापाले पछिल्लो समय राजनीति सामाजिक सञ्जालमा सीमित हुँदै गएको बताउनुभयो। “अहिले राजनीति फेसबुक र रिलमा छ, यसले समस्या समाधान गर्न सक्दैन,” उहाँले भन्नुभयो।

राजनीति नागरिकसँग जोडिन नसके नागरिकमा असन्तुष्टि र आक्रोश बढ्ने बताउँदै उहाँले अहिले त्यस्तै अवस्था सिर्जना भएको धारणा राख्नुभयो।  विश्वभर नै ‘एन्टी पोलिटिक्स’को प्रवृत्ति देखिएको उल्लेख गर्दै सभापति थापाले त्यसको प्रभावस्वरूप नागरिकले परम्परागत राजनीतिको विकल्प खोज्ने अवस्था बनेको बताउनुभयो। उक्त प्रवृत्तिलाई कांग्रेसले समयमै बुझ्न नसकेको उहाँको भनाइ छ। त्यसकै परिणामका रूपमा भदौ २३ र २४ गतेका घटना भएको उहाँले बताउनुभयो।

सभापति थापाले फागुन २१ गते सम्पन्न निर्वाचनमा कांग्रेसले अनपेक्षित परिणाम व्यहोर्नुपरेको उल्लेख गर्दै त्यसको सतही समीक्षा गरेर मात्रै वास्तविक कारण पहिचान गर्न नसकिने बताउनुभयो। उहाँका अनुसार २०७२ देखि २०८२ सम्मको नेपाली राजनीति सत्ता र गठबन्धनको वरिपरि केन्द्रित रह्यो। यसले नागरिकमा असन्तुष्टि र आक्रोश बढाउन भूमिका खेलेको उहाँको विश्लेषण छ।

सभापति थापाले पछिल्लो १० वर्षमा नेपालमा बसाइँसराइको अवस्था पनि तीव्र बनेको उल्लेख गर्नुभयो। परिवारभित्रै द्वन्द्व बढिरहेको तथा पुस्तापुस्ताबीचको दूरीसमेत बढ्दै गएको उहाँको भनाइ छ।

उहाँले नेपाली कांग्रेस अब अहिलेकै गतिमा अघि बढ्न नसक्ने बताउँदै पार्टीको संरचना र निर्णय प्रक्रियामा सुधार आवश्यक रहेको उल्लेख गर्नुभयो।

कांग्रेसलाई सुधार गर्ने क्रममा अब काठमाडौंले उम्मेदवार छनोट गर्ने परम्परा अन्त्य गर्नुपर्ने उहाँको धारणा छ। उहाँका अनुसार अब जुन क्षेत्रको उम्मेदवार हो, त्यही क्षेत्रका पार्टी सदस्य र शुभेच्छुकले कांग्रेसको उम्मेदवार छनोट गर्ने व्यवस्था गर्नुपर्छ। उहाँले कुनै पनि नेताकाे प्रभाव र पैसाकाे चलखेमा अब कांग्रेसकाे टिकट नबाँडिने प्रतिवद्धता जनाउनुभयाे । ‘हिजाे जे जे भयाे भयाे, अब त्याे च्याप्टर क्लाेज भयाे’, उहाँले भन्नुभयाे ।  

त्यस्तै, पार्टी सभापति तथा नेतृत्व चयन गर्ने प्रक्रिया पनि प्रतिनिधिमार्फत मात्र नभई कांग्रेसका सबै सदस्यको प्रत्यक्ष सहभागिताबाट हुने व्यवस्था गर्नुपर्नेमा सभापति थापाले जोड दिनुभयो। उहाँले महाधिवेशनबाट छानिएका प्रतिनिधिले नेतृत्व चयनभन्दा विधान निर्माण तथा नीतिगत काममा केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो।