काठमाडौं, असोज १९। नेपाली कांग्रेसले पार्टीको सांगठनिक संरचना विस्तार गर्दै वरिष्ठ उपसभापति पद सिर्जना गर्नुका साथै पदाधिकारीको संख्या बढाउने प्रस्ताव अघि सारेको छ।
खुलामञ्चमा आज बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले वरिष्ठ उपसभापतिसहित पदाधिकारीको संख्या बढाउने प्रस्तावलाई निर्णयार्थ बन्द सत्रमा लैजाने निर्णय गरेको हो।
बैठकले वरिष्ठ उपसभापति तथा १ महिला सहित उपसभापति ४ जना, महामन्त्री ३ जना र सहमहामन्त्री १५ जना बनाउने प्रस्ताव गरेको छ। संशोधित विधानअनुसार उक्त प्रस्ताव पारित भए कांग्रेसमा अब २१ जना पदाधिकारी रहने व्यवस्था हुनेछ।
प्रस्तावित व्यवस्थाअनुसार उपसभापति र महामन्त्री सबै निर्वाचित हुने व्यवस्था गरिनेछ। त्यस्तै, ३ जना महामन्त्रीमध्ये कम्तीमा १ जना महिला अनिवार्य हुने प्रस्ताव गरिएको छ। यसअघि कांग्रेसमा २ जना महामन्त्री रहने व्यवस्था थियो।
त्यसैगरी, सहमहामन्त्रीको संख्या पनि बढाएर १५ जना पुर्याउने प्रस्ताव गरिएको छ। हाल ११ जना सहमहामन्त्री रहेकोमा थप ४ जना बढाउने प्रस्ताव गरिएको हो।
प्रस्तावअनुसार १५ जना सहमहामन्त्रीमध्ये २ जना खुलातर्फबाट निर्वाचित हुनेछन् भने बाँकी पद समावेशी समूहका आधारमा रहने र सभापतिले मनोनयन गर्ने व्यवस्था प्रस्ताव गरिएको छ।
केन्द्रीय समितिबाट अघि सारिएको उक्त प्रस्ताव अब बन्द सत्रमा छलफल तथा निर्णयका लागि प्रस्तुत गरिनेछ।












प्रतिक्रिया दिनुहोस्