जनता टाइम्स

१९ आश्विन २०८३, सोमबार ०९:११

बागलुङमा सडक खन्ने क्रममा माटोको ढिस्को खस्दा दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते


काठमाडौं, असोज १९ । बागलुङको निसीखोला गाउँपालिका–३ बोहोरागाउँमा सडक स्तरोन्नतिको क्रममा माटोको ढिस्को खस्दा पुरिएर दुई मजदुरको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

नेपाल प्रहरीका अनुसार आज बिहान करिब ७ः२० बजे झिवाखोलाबाट बोहोरागाउँ जाने भित्री सडकखण्डमा लु १ क ३४४६ नम्बरको जेसीबीले सडक खन्ने क्रममा अचानक माथिबाट माटोको ढिस्को खसेर मजदुरहरू पुरिएका थिए।

घटनामा सल्यानका ३२ वर्षीय लालबहादुर बुढाथोकी र उदयपुरको गाईघाटका ३२ वर्षीय राजु थापामगरको मृत्यु भएको प्रहरीले जनाएको छ। दुवै जनालाई माटोको ढिस्कोमा पुरिएको अवस्थामा उद्धार गरिएको थियो।

यस्तै, घटनामा रोल्पाको त्रिवेणी गाउँपालिका–५ का २५ वर्षीय कृष्णबहादुर घर्ती गम्भीर घाइते भएका छन्। घाइते घर्तीलाई तत्काल उद्धार गरी उपचारका लागि बुर्तिबाङ अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको नेपाल प्रहरीले जनाएको छ।