काठमाडौं, असोज १९ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहले खुलामञ्चबारे सामाजिक सञ्जालमा व्यक्त गर्नुभएको टिप्पणीप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीजस्तो पदको गरिमा कायम राख्नुपर्ने बताउनुभएको छ।
प्रधानमन्त्री शाहले आइतबार साँझ नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहपछि सामाजिक सञ्जालमार्फत खुलामञ्चबारे व्यङ्ग्यात्मक टिप्पणी गर्नुभएको थियो। त्यसप्रति प्रतिक्रिया जनाउँदै अध्यक्ष साम्पाङले प्रधानमन्त्रीजस्तो पदमा बसेको व्यक्तिले खुलामञ्चको विषयमा ‘त्यति तल झरेर’ बोल्नुपर्ने कारणबारे प्रश्न उठाउनुभएको हो।
साम्पाङले सामाजिक सञ्जालमार्फत भन्नुभएको छ, ‘प्रधानमन्त्री जस्तो पदले खुल्ला मञ्चको बारे त्यति तल झरेर किन बोल्या होला ? प्रधानमन्त्री भन्ने पदको गरिमा रहेन यो देशमा ! मैले बाटो बनाएकोले हिँड्न पायौ भन्ने किसिमले बोल्नु कति सम्म उपयुक्त होला ? भोलि फेरि मैले बनाएको बाटोमा हिँड्न पाउँदैनस् भन्यो भने त बितायो।’
साम्पाङको यो प्रतिक्रिया प्रधानमन्त्री शाहले आइतबार साँझ फेसबुकमा लेख्नुभएको स्टाटसको प्रसंगमा आएको हो।
प्रधानमन्त्री शाहले फेसबुकमा ‘धन्न खुला मञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन् !’ भन्दै लेख्नुभएको थियो। नेपाली कांग्रेसले आइतबार काठमाडौंको खुलामञ्चमा १५औँ महाधिवेशनको उद्घाटन समारोह आयोजना गरेको थियो।
कांग्रेस सभापति गगनकुमार थापाले महाधिवेशन उद्घाटन समारोहमा प्रधानमन्त्री संसद्मा उपस्थित नभएको विषय उठाउँदै सरकार र प्रधानमन्त्रीमाथि टिप्पणी गर्नुभएको थियो। त्यसको प्रतिक्रियास्वरूप प्रधानमन्त्री शाहले खुलामञ्च आफू काठमाडौं महानगरपालिकाको नेतृत्वमा रहँदा खुल्लामञ्च व्यवस्थित गरिएको दाबी सहित साे टिप्पणी गर्नुभएको हाे ।
प्रधानमन्त्रीको उक्त अभिव्यक्तिमा कांग्रेसलाई ‘नयाँ पार्टी’ भन्दै कटाक्ष गरिएको थियो। साथै, आफूले व्यवस्थित गरेको खुलामञ्चमै उभिएर आफूलाई आलोचना गरिएको आशय प्रधानमन्त्रीको स्टाटसमा देखिन्छ।
यही प्रसंगलाई लिएर साम्पाङले प्रधानमन्त्रीजस्तो उच्च संवैधानिक पदमा रहेको व्यक्तिबाट सार्वजनिक अभिव्यक्ति दिँदा पदको मर्यादालाई ध्यान दिनुपर्ने धारणा राख्नुभएको हो।
साम्पाङको प्रश्न केवल खुलामञ्चको विषयमा सीमित छैन। उहाँले प्रधानमन्त्रीले ‘मैले बनाएको बाटोमा हिँड्न पाएका छौ’ भन्ने शैलीमा अभिव्यक्ति दिनु उपयुक्त नहुने बताउँदै त्यसबाट भोलि सार्वजनिक संरचना र सेवामाथि नै व्यक्तिगत स्वामित्वको दाबी गर्ने प्रवृत्ति विकसित हुन सक्ने संकेत गर्नुभएको छ।
लोकतान्त्रिक व्यवस्थामा सार्वजनिक संरचना कुनै व्यक्ति वा पदाधिकारीको निजी सम्पत्ति नभई राज्य र नागरिकको साझा सम्पत्ति हुने भएकाले साम्पाङको टिप्पणीले सार्वजनिक स्रोत र राजनीतिक श्रेयको विषयसमेत बहसमा ल्याएको छ।
प्रधानमन्त्री शाहले काठमाडौं महानगरपालिकाको प्रमुखका रूपमा रहँदा खुलामञ्चको स्तरोन्नति तथा व्यवस्थापनको काम अघि बढाउनुभएको थियो। त्यसैको प्रसंग जोडेर उहाँले अहिले कांग्रेसको महाधिवेशन त्यहीँ आयोजना भएको र त्यही मञ्चबाट आफूविरुद्ध आलोचना भएको आशय व्यक्त गर्नुभएको देखिन्छ। तर साम्पाङले सार्वजनिक संरचनाको निर्माण वा सुधारलाई कुनै व्यक्ति विशेषको निजी उपलब्धि वा स्वामित्वका रूपमा प्रस्तुत गर्न नहुने प्रश्न उठाउनुभएको छ।
यसैबीच प्रधानमन्त्री शाहको उक्त स्टाटसलाई लिएर सामाजिक सञ्जालमा अन्य व्यक्तिहरूबाट पनि विभिन्न प्रतिक्रिया आएका छन्। जेनजी अभियन्ता रक्षा बमले समेत प्रधानमन्त्रीको टिप्पणीप्रति कडा प्रतिक्रिया दिँदै ‘
धन्न जेनजीहरूले आन्दोलन गर्दिएर, रगत बगाइदिएर, घाइते/सहिद भइदिएर, सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री, मन्त्री र सांसद हुन पाएका छन्।’ भन्ने टिप्पणी गर्नुभएको छ।
राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले ‘धन्न श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले नेपाल बनाएर आज कोही प्रधानमन्त्री, कोही मन्त्री हुँ भन्न पाएका छौँ; संसारको जुनसुकै कुनामा पुगे पनि गर्वका साथ ‘म नेपाली हुँ’ भन्न पाएका छौँ’, भन्दै बालेनलाई कडा प्रहार गर्नु भएको छ ।
सचिन तिमल्सिनाले ‘धन्न कांग्रेसले यो देशमा लोकतन्त्र स्थापना गरेछ, प्रधानमन्त्री नै भए पनि ९ बजे पछि तल्लो स्तरको टिप्पणी गर्न पाएका छन्’, भन्दै जवाफ फर्काउनु भएको छ ।












प्रतिक्रिया दिनुहोस्